(संस्मरण)
नाथु कथाकार
सरण राई
अहिले म ७३ वर्षमा छु । मजस्तो सर्वसाधारणको संस्मरण कसले पो पढ्ला ? अनि संस्मरणमा चाखलाग्दो उल्लेखनीय के नै पो होला र ? भनेर संस्मरण लेख्ने सोच कहिल्यै बनाइएन ।
तर साहित्यकार एवं पत्रकार श्रीराम भाइले संस्मरण मागेकोमागेकै गरे । सम्झेँ कृष्ण धरावासी ‘समस्टी’को सम्पादक हुँदा एउटा रचना दिन गएको थिएँ । सोध्नु भयो उमेर कति भयो ? मैले ६२ भनेपछि उहाँले संस्मरण लेख्नुहोस् भन्नु भयो । त्यतिबेला पनि सम्झेँ मजस्ताको संस्मरण माने न मतलब । लेखिएनँ । मन जिती भाइले पटक पटक भने पछि लेख्नै प¥यो । सोचेँ के बारे लेख्ने ?
हुन त म नाम दाम पद प्रतिष्ठा केही नभएको इमानदार सोझो आम मान्छे भए पनि मैले ७३वर्षको लामो समयमा कैयों उतार चढाव देखेको भोगेको छु । राणा शासन कालमा जन्मेर २००७सालपछिको शिशु प्रजातन्त्र, पंञ्चायत व्यवस्था, संवैधानिक बहुदलीय व्यवस्था र गण्तन्त्र पनि चाखि सकेको छु । २०३७सालको सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने जनमत सङ्ग्रह, २०४६को जनआन्दोलन, २०६२÷६३को दोस्रो जनआन्दोलनमा त प्रत्यक्ष सहभागि नै भइएको थियो । त्यतिबेला एकजना प्रबुद्ध वुद्धिजीवी साथीले भनेका थिए— ‘आन्दोलन सफल भएपनि हामीले पाउने त लोकतन्त्र मात्रै हो ।’ अर्थ अहिले पो बुझ्दै छु ।
संस्मरण लेख्नै लागेपछि जेसुकै होस् लत्ता छाड्नै प¥यो । ‘अरुले तपाईँ भनुन् नभनुन् आफै मपाई’ हुनै प¥यो । बाल्यकालदेखिको भोगाइ कनिकुथी लेख्नै प¥यो । संस्मरण भए ठीकै छ नभए संस्मरण लेख्दा यो लकडाउनको बिरसिलो समय केही बेर भए पनि काटिन्छ ।
मेरो बाल्यकाल सुखद रहेको थियो । गाउँकै पाठशालामा कक्षा ७सम्मको पढाई गरीयो । त्यो १३वर्षको उमेरसम्मको अवधि नै मेरो जीवनको अनुभूति अनुभवको महत्वपूर्ण जग थियो ।
त्यतिबेलाको मोटामोटि परिवेश कस्तो थियो भने केटाकेटी कसैले पनि कपाल कोर्न जानेकै थिएनन् अर्थात कपाल कोर्नै पर्दैैनथ्यो । जुल्फी पाल्ने चलन गाउँघरमा थिएन । कक्षा आठमा भोजपुर बजार पढ्न गइसके पछि फुफू नरदेवीले पहिलोपल्ट कपाल कोरि दिनु भयो र कपाल अथवा जुल्फी कोर्न सिकियो । पोसाकको सम्बन्धमा पनि कमिज पाइजामा पिताज्युले सिलाइ दिनु भयो । पहिलो पल्ट ह्वार्लाङ्गे पाइजामा लगाएको र लगाउने बानी नभएकोले कुद्दा हिँड्दा पाइजामामा खुट्टा पस्ने, पसेपछि कि लडिन्थ्यो नभए पाइजामा च्यातिन्थ्यो । सम्झदा रमाइलो लाग्छ ।
त्यो जमानामा ‘नानीको आमाले बाह्र धार्नी गुहु खान्छिन्’ भन्थे । आजभोलि जस्तो त्यतिबेला पेम्पर हुँदैनथ्यो । नानीलाई पुरानो कपडाको रोसी थाङनामा नै हुर्काइन्थ्यो । थाङना धुँदा नानीलाई स्याहारीसकेपछि नङको चेपचापमा अडकेको गुहु खानासँग थाहै नपाई आमाले खाने हुँदा त्यसो भनिनु ठीक थियो । तर आज भोलि त पेम्पर, न्यापकिन नानी हुक्र्याउनका लागि अनेक सामानहरू छन् । हुने खाने घरमा त लुगा पनि वासिङ मेसिनले धुन्छ । आमाले बाह्र धार्नी गुहु खाने त के गुहु छुन पनि पर्दैन । यो ७३ वर्षको अवधिमा हर क्षेत्रमा अनेकौं यस्ता परिवर्तनहरू भएका छन् ।
त्यतिबेला जुत्ता चप्पल कोही लगाउदैनथे । ९५ प्रतिशत मानिसहरू खाली खुट्टा नै हुन्थे । गाउँको स्कुले अवधिमा पोसाककै बारेमा पनि आफूखुसी, सिङान पुच्दापुच्दा लेघ्रालेघ्रा परेको बाहुला दौराको, हातखुट्टाभरि पत्रैपत्रा मयल, खाली खुट्टा कुद्यो हिड्यो । पेन्टले प्रवेश गरेकै थिएन गाउँमा, आनन्दको रमणीय तडकझडकविहीन सरल ग्रामिण बालपन । छुट्टीका दिनहरूमा गोठाला जानु, कुलो लाउनु र साथीसाथी मिलेर याङटाङ खोलाको दहमा पौडी खेल्नु केटाकेटी समयको अविस्मरणीय स्मृति बनेको छ । शुक्रबारको हाफ छुट्टी पछि याङटाङ खोलामा सबै स्कुले बिद्यार्थीहरू लगेर दार्जिलिङका सरहरू प्रसाद सोताङ, वेदि प्रसाद र मणि कुमार तामाङले दुङ्गाले घोटिघोटि हातखुट्टाका मयल माड्न लगाउनु हुन्थ्यो । सफाइ सुग्घर हुन सिकाउने त्यस छेकाका उहाँहरू नै पहिलो गुरु हुनुहुन्थ्यो । सास मुखबाट होइन नाकबाट फेर्न सिकाउने पनि उहाँहरू नै हुनुहुन्थ्यो ।
केटाकेटीको त्यस्तो अवस्था रहेपनि स्कूलमा थुप्रै साहित्यिक पुस्तकहरू थिए । सायद कतैबाट उपहार अनुदान प्राप्त भएको थियो । त्यही गाउँको स्कुलमा नै भीमनीधी तिवारीको ‘सहनशीला सुशीला’ नाटक र उहाँका कथा सङ्ग्रहहरूको ठाइलो भागसम्म, संक्षिप्त भारत, मुनामदन, बालकृष्ण समको चिसो चुलो आदि थुप्रै पुस्तकहरू पढियो, जसले साहित्यतर्फ लाग्न अभिप्रेरित ग¥यो ।
त्यति बेला पनि दार्जिलिङबाट आएका शिक्षकहरूले स्कूलमा महिना महिनामा कविता गोष्ठि, खेलकुद, वादविवाद आदि प्रतियोगिता गराउनु हुन्थ्यो । एउटा कविता प्रतियोगितामा मैले पनि कक्षा २मा हुँदा भाग लिएको थिएँ । मलाई प्रथम हुन्छु भन्ने लागेको थियो तर दोस्रो भएपछि मलाई प्रतियोगिताप्रति अनार्कषण पैदा भयो । मेरो बाल मस्तिष्कले अब कहिल्यै साहित्य प्रतियोगितामा भाग नलिने निर्णय लियो । त्यसपछि आजसम्म पनि मैले कुनै प्रतियोगितात्मक गोष्ठिमा भाग लिएको छैन । रचना पुरस्कारको लागि नभएर जीवनप्रति आस्था जगाउनका लागि हो भन्ने मेरो विश्वास त्यतिबेलादेखि नै कायम रहेको छ ।
मेरा पिता मछिन्द्र बहादुर राई २०१५सालको आमनिर्वाचनमा उम्मेदवार हुनुभएकोले ११वर्षकै उमेरमा बाल प्रचारक भइयो । राजनीति नबुझि नै त्यतिबेलादेखि नै राजनीतिमा दलेझोले भइयो । दलेझोले भएर ५२वर्ष बिताएपछि दिव्य ज्ञान प्राप्त भयो । भावना मान्छेहरूको मनमा पैदा ग¥यो अनि त्यही भावनामा उधो बगाएर मास्तिर खोज्ने फोहोरी राजनीति मजस्ता झेल गर्न नजान्ने सोझाहरूले गर्ने खेल होइन रहेछ । तापनि राजनीति यस्तो रङ्ग हो जसले कसैलाई पनि छोडदैन । सबैका रगत स्वासप्रस्वास क्षणक्षणको जीवनमा घुलित भई राजनैतिक रङ्गले प्रभाव पारिरहेको हुन्छ । साहित्यमा लागेपछि पनि लेख्दा राजनीतिले मलाई मार्ग निर्देशन गरिरहेकै हुँदो रहेछ । राजनीति असल भए जीवन सहज हुन्छ ।
फोहोरी राजनीतिमा असफल भएपछि मैले अर्को टेक्ने हाँगो सााहित्य बनाउन खोजेँ । ५९ वर्षको उमेर बित्न लागेपछि लाग्यो जीवन निस्सार बितेछ । पत्नीले ‘वृद्धावस्थामा छोराबुहारीहरूले हेरेनन् भने के गर्ने ?’ जटिल प्रश्न सोधिन् । त्यो प्रश्न मनमा खेल्न थाल्यो । वृद्धाआश्रम बनाउन सके त हुन्थ्यो । वृद्धाश्र्रम बनाउन असम्भव लागेपछि कागतमा नै वृद्धाश्रम बनाएर चित्त बुझाउन ‘मानव संसार’ उपन्यास लेखियो । आफ्नै खर्चले छापियो । यो उपन्यास छपाइको पनि आफ्नै कथा छ ।
पुस्तक छापिएपछि हातहातै बेच्ने सपना बोकेर हामी दुई बुढाबुढी काठमाडौं जाने भयौँ । कोशी नदीले प्रवाह बदलेकोले डुङ्गामा कोशी नदी तरेर गाडी फेर्दै द्ःखसाथ काठमाडौ पुगियो । छापाखाना खोजेर छाप्न दियौँ, हप्ता दिनमा नै पुस्तक छापेर छापाखानाले दिने भयो । त्यस बीचमा बौद्ध, पशुपति घुम्ने हुँदा पत्नीको डेड तोलाको सिक्री मोटरसाइकलबाट सिक्री तान्ने चोरले तानी दियो । बौद्धदेखि हिडेर नै पशुपति जाने भएर बत्तिसपुतलीको सानो बाटोमा हिडीरहेका थियौँ । मोटरसाइकलमा दुईजना आए, पछाडि बस्नेले सिक्री तानेर लगिहाल्यो । करायौँ । केही मान्छेहरू पनि जम्मा भए । तीव्र गतिको मोटर साइकलमा ती चोरहरू हुइकिहाले । त्यतिबेला आफ्नै पार्टीका बामदेव गौतम गृह मन्त्री थिए । प्रहरी रिपोर्ट गरेमा चोर पत्ता लाग्छ कि सम्झेँ । बेकार झन्झट मात्र । सुन त्यतिबेला २२,०००।– तोला थियो । डेडतोलाको ३३,०००।– पनि ‘मानव संसार’ छपाइकै खर्चमा जोडियो । त्यसपछि पो मैले पनि सुन र सिक्रीको याद गर्न थालेँ, बजारभरि आइमाइहरूका घाटिमा सिक्री नै सिक्री देख्छु । राम्ररी नियालेर हेरेँ ‘सुनभन्दा कम छैन’ रहेछ । ‘सुनभन्दा कम छैन’को महत्व मैले पनि त्यतिबेला बुझेँ ।
साहित्यमा लागेको पहिलो अनुभव सुखकर नभएपनि साहित्यकारमा गनिने धुन दिमागमा सवार थियो । भूमिका आख्यानपूरुष ध्रुवचन्द्र गौतमलाई लेखाएको थिएँ । पुस्तक निकाल्नासाथ ‘हटकेक’झैँ पुस्तक बिक्री हुने सपना त्यतिबेला तुहियो जब पुस्तक पसलेहरूले पुस्तक राखेर बेच्नै मानेनन् । ‘जसले गर्छ रहर उसको जान्छ गोठको बहर’ हो रहेछ सम्झेँ । साझा प्रकाशनबाट मेरो कथा सङ्ग्रह ‘अन्तिम स्वीकारोक्ति’ छापिएको थियो । कसो साझालाई दिएमा केही त बेचिदेला भनेर उपन्यास ‘मानव संसार’ र निबन्ध सङ्ग्रह ‘साथी’ एक एक सय प्रति दिएँ । बुझेको बिल आजसम्म राखेकै छु । न पुस्तकको पैसा न ‘अन्तिम स्वीकारोक्ति’को रोयल्टि पाइएको छ । भ्रष्टाचारी माहौलले सबै संघसंस्था यहाँसम्म कि मानिसको दिमागसम्म बिगारेको रहेछ ।
अघि नै भनिसकेको छु अरुले तपाईँ भनुन् नभनुन् आफै मपाई हुनै प¥यो । अब कथाकार भएको दुखेसो पनि पोखिहालूँ । मलाई मैले लेखेका कथाहरूमध्ये ‘नाति’ अति मन पर्छ । किन मन पर्छ ? कारणहरू छन् । त्यो कथा लेखिसकेपछि पत्नी लक्ष्मीलाई पहिलो पल्ट पढेर सुनाएँ । पहिलो श्रोता तिनको प्रतिक्रिया थियो— ‘आँसु आउने खालको छ ।’ म प्रतिक्रिया सुनेर खुसी भएँ । तिनको देहावसान भएपछि पनि त्यो प्रतिक्रिया सम्झिरहन्छु । त्यो कथा प्रकाशनार्थ गरिमामा पठाएँ, पठाएको एक महिनाभित्रै छापियो । गरिमाका तात्कालिन सम्पादक अविनाश श्रेष्ठ र गणेश रसिकलाई साझाकै कार्यालयमा केही समयपछि भेट हुँदा दुवै जनाले सो कथाको प्रशंसा गरे । तर त्यो कथाको दुःिख पात्र ‘कोपा’ म आफै भएको छु अहिले । नाथु कथाकार । मैले किन पत्नी मरेर दुःख पाएको वृद्धको कथा लेखेछु ?
म साहित्यमा लागेर हराएँ कि ? आफैलाई सोध्छु । साहित्यमा नलागेको भए अहिले म के गरिरहेको हुन्थे ? फेरि आफैलाई सोध्छु । म साहित्यमा नलागेको भए झन् कता कता थाहै नपाउने आफ्नै मनको पीडामा झन् झन् हराइरहेको हुन्थे । साहित्यमा लागेकोले मेरो वर्तमान एकल जीवन काट्न मलाई सजिलो भएको छ ।
सांसारिक जीवनको सौन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
यसैलाई बाँच्नेजीवन सुत्र बनाएको छु र बाँचिरहेको छु । सक्रियता, सेवा, संयम र धैर्यले बाँच्न अधिप्रेरित गरिरहेको छ ।
मेरा स्कूलमा मिल्ने साथीहरू गणेश रसिक, खम्बप्रसाद राई, कुल बहादुर राई, कृष्ण कुमार राई, फुफू नरदेवी राई आदि थिए । ती साथीमध्ये गणेश रसिक भन्नु हुन्छ ‘अन्तरमुखी स्वाभावका कारण तपार्इँका रचनाहरू ओझेलमा परिरहेका छन् ।’ हो नि म अन्तरमुखी हुन मन पराउछु । अब त यो उमेरमा झन् कहाँ कता तडकमडक फूर्तीफार्ती देखाउनु ?
साहित्यकारले आफ्नै खर्चले छापेको साहित्यिक पुस्तक त समाजको अमूल्य सम्पत्ति हुनुपर्ने हो । तर आफ्नै खर्चमा पुस्तक छाप्ने साहित्यकारलाई सबैले वेवकुफ सम्झन्छन् र बनाउछन् । मैले पनि ‘मानव संसार’ उपन्यास नेपालका नाम चलेका २०० जना साहित्यकारहरूलाई भेटेर ‘उपहार’ टक्राएँ । कसैले पढेको थाहा पाइएन । ती २००प्रति पुस्तक खोलामा फालेको सिक्काजस्तै भयो । कसैले पढेनन् भन्दा नि एघार वर्षपछि त्यस पुस्तकको दोस्रो संस्करण निस्केको जानकारी फेसबुकमा राख्दा भैरहवाका साहित्यकार कपिल लामिछानेले त्यो त्यतिबेलै पुस्तक पढेको टिप्पणी लेख्नु भएको देखेर मेरो प्रयत्न खेर गएको रहेनछ भन्ने सोच्न पुगेको छु ।
साहित्यकारले आफ्नै खर्चले छापेको पुस्तकको बिक्री वितरणबारे मेरो अनुभव झन् नकारात्मक रहेको छ । मैले झोलामा मानव संसार बोकेर साथीभाइ संघसंस्था क्याम्पसहरूलाई ‘पुससेल’ गरेर ५०,०००।–को पुस्तक बेचेँ । पुस्तकमा लेखिएको सर्त अनुसार सो रकमको १०प्रतिशत रकम ५०००।– विश्रान्ति मन्दिरलाई दिएँ । यसलाई मैले साहित्यमा लागेर प्राप्त गरेको उपलब्धी (आफ्नै लागि मात्र भए पनि) मानेको छु । तर त्यसपछि भने झोला बोकेर आइरहेको मलाई देख्दा साथीभाइहरू भाग्न थाल्छन् कि भन्ने डर भयो । मेरो ‘पुस सेल’को जाँगर पनि मरेर गयो ।
‘नौरङ्गी’ र ‘अन्तिम आयाम’ छापिएपछि पनि कैयौं साथीभाइहरूले घरमै आई पुस्तक बेचि दिन्छौँ भनेर आफ्नै खर्चले छापेको ती पुस्तकहरू कसैले२०प्रति कसैले १० प्रति लगे । म मक्ख थिएँ बेचेर पैसा देलान् । तर उनीहरूले पुस्तक बेचेर सहयोग गर्नुको सट्टा ती पुस्तक लैजाने साथीभाइहरूले न पैसा दिए न फेरि मलाई भेटे । ती त मसँग टाढा टाढा पो भए । पुस्तकले साथीभाइ चिनायो चिडायो । आफ्नै खर्चले पुस्तक छाप्ने म हिन्दीको उखानझै ‘गाठ भी गवाना, वेवकुफ भी बनना’झँै भएँ । धेरै साथीभाइहरूलाई पुस्तक उधारो दिएँ, न पढे न पैसा नै तिरे । पुस्तक पसलेलाई पुस्तक उधारो दिनै पर्ने नियमै रहेछ । पुस्तक राख्नै मान्दैनन् राखिहाले पनि बेच्ने चासो राख्दैनन् । पुस्तक राखेभने पनि पैसा दिदैनन् । हरक्षेत्रको वेइमानीको रोग पुस्तक क्षेत्रमा झन् डरलाग्दो रूपमा फैलिएको तिक्त अनुभव मैले गर्न पुगेको छु ।
साहित्यिक क्षेत्रको सबैभन्दा डरलाग्दो क्यान्सर दलेझोले साहित्य हो । दलेझोले साहित्य भनेको आफ्नो दलको तथाकथित साहित्यकार बाहेक अरुलाई साहित्यकार नै नमान्ने–नगन्ने, आफ्नै दलको दलेझोलेहरू मिलेर गुठ उपगुठ बनाउने र साहित्यलाई पनि आम सर्वसाधारणको पक्षपोषण हुन नदिने दलेझोले साहित्य हो । त्यो एक प्रकारले फोहोरी राजनीतिकै अङ्ग हुने भएकोले असल साहित्य र असल राजनीतिको विरोधी हुन्छ । यस्तो दलेझोले साहित्यमा नलागेको हुँदा मलाई दलेझोले साहित्यकारहरू साहित्यकार मान्दैनन् ।
म अन्तरमनले देखेको लेख्छु, अब त झन् मर्ने बेला आफू किन बेचिनू । अन्तरमन किन मार्नू । हुन त मपनि ११वर्षकै उमेरदेखि दलेझोले भएकोले दलेझोले भएर नै साहित्यमा प्रवेश गरेको थिएँ । मेरो पहिलो कथा ‘बिहानको प्रतीक्षामा’(जुन कथा ‘अन्तिम स्वीकारोक्ति’ कथा सङ्ग्रहमा पनि प्रकाशित छ ।) नक्सलवादि आन्दोलनले प्रभावित भएर जनमुक्तिको आवाज बुलन्द गर्नका लागि लेखेको थिएँ । जबसम्म म दलेझोले थिएँ लेख्न थाल्दा कतै मेरो लेखन दलको उद्देश्य विपरित भएर कार्वाहीमा परिने हो कि भनि ‘कन्सस’ हुन्थे । दलेझोले हुँदा स्वतन्त्र लेखनमा कताकता थोरै बाधा परेको अनुभूति हुन्थ्यो । अहिले म कुनै बाधा ब्यवधान लोभलालच बीना स्वतन्त्र भएर लेख्छु, लेख्न सक्छु ।
स्वतन्त्र ? त्यो हाम्रो दलको होइन । दलीय भागबन्डाले खाएको बिगारेको देश ! कसैले मेरो नाम लिएर ‘त्यो पनि साहित्य लेख्छ’ भन्यो भने दलेझोले साहित्यकारहरू भन्ने गर्छन्— मुला नाथु कथाकार ! तर स्वतन्त्र लेखनमा लागिरहने मलाई नाथु कथाकार हुनमा आनन्दबोध हुन्छ । युवा तन्नेरी हुँदा आफूलाई अरुकै लहैलहैमा हिडाइयो । अब मर्ने बेला स्वतन्त्र भई आफूलाई आनन्द आउने क्रियाकलापमा संग्लग्न हुन पाउनु अहोभाग्य हो । सबै वृद्धहरूले आफूलाई मन परेको काम गर्ने स्वतन्त्रता पाउनु पर्छ ।
२०७७ भदौ २६
Monday, November 3, 2025
(संस्मरण) नाथु कथाकार
Subscribe to:
Posts (Atom)