Monday, November 3, 2025

(संस्मरण) नाथु कथाकार

 (संस्मरण)
नाथु कथाकार

सरण राई

अहिले म ७३ वर्षमा छु । मजस्तो सर्वसाधारणको संस्मरण कसले पो पढ्ला ? अनि संस्मरणमा चाखलाग्दो उल्लेखनीय के नै पो होला र ? भनेर संस्मरण लेख्ने सोच कहिल्यै बनाइएन ।
तर साहित्यकार एवं पत्रकार श्रीराम भाइले संस्मरण मागेकोमागेकै गरे । सम्झेँ कृष्ण धरावासी ‘समस्टी’को सम्पादक हुँदा एउटा रचना दिन गएको थिएँ । सोध्नु भयो उमेर कति भयो ? मैले ६२ भनेपछि उहाँले संस्मरण लेख्नुहोस् भन्नु भयो । त्यतिबेला पनि सम्झेँ मजस्ताको संस्मरण माने न मतलब । लेखिएनँ । मन जिती भाइले पटक पटक भने पछि लेख्नै प¥यो । सोचेँ के बारे लेख्ने ?
हुन त म नाम दाम पद प्रतिष्ठा केही नभएको इमानदार सोझो आम मान्छे भए पनि मैले ७३वर्षको लामो समयमा कैयों उतार चढाव देखेको भोगेको छु । राणा शासन कालमा जन्मेर २००७सालपछिको शिशु प्रजातन्त्र, पंञ्चायत व्यवस्था, संवैधानिक बहुदलीय व्यवस्था र गण्तन्त्र पनि चाखि सकेको छु ।  २०३७सालको सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने जनमत सङ्ग्रह, २०४६को जनआन्दोलन, २०६२÷६३को दोस्रो जनआन्दोलनमा त प्रत्यक्ष सहभागि नै भइएको थियो । त्यतिबेला एकजना प्रबुद्ध वुद्धिजीवी साथीले भनेका थिए— ‘आन्दोलन सफल भएपनि हामीले पाउने त लोकतन्त्र मात्रै हो ।’ अर्थ अहिले पो बुझ्दै छु ।
संस्मरण लेख्नै लागेपछि जेसुकै होस् लत्ता छाड्नै प¥यो । ‘अरुले तपाईँ भनुन् नभनुन् आफै मपाई’ हुनै प¥यो । बाल्यकालदेखिको भोगाइ कनिकुथी लेख्नै प¥यो । संस्मरण भए ठीकै छ नभए संस्मरण लेख्दा यो लकडाउनको बिरसिलो समय केही बेर भए पनि काटिन्छ ।
मेरो बाल्यकाल  सुखद रहेको थियो । गाउँकै पाठशालामा कक्षा ७सम्मको पढाई गरीयो । त्यो १३वर्षको उमेरसम्मको अवधि नै मेरो जीवनको अनुभूति अनुभवको महत्वपूर्ण जग थियो ।
त्यतिबेलाको मोटामोटि परिवेश कस्तो थियो भने केटाकेटी कसैले पनि कपाल कोर्न जानेकै थिएनन् अर्थात कपाल कोर्नै पर्दैैनथ्यो । जुल्फी पाल्ने चलन गाउँघरमा थिएन ।  कक्षा आठमा भोजपुर बजार पढ्न गइसके पछि फुफू नरदेवीले पहिलोपल्ट कपाल कोरि दिनु भयो र कपाल अथवा जुल्फी कोर्न सिकियो । पोसाकको सम्बन्धमा पनि कमिज पाइजामा पिताज्युले सिलाइ दिनु भयो । पहिलो पल्ट ह्वार्लाङ्गे पाइजामा लगाएको र लगाउने बानी नभएकोले कुद्दा हिँड्दा  पाइजामामा  खुट्टा पस्ने, पसेपछि कि लडिन्थ्यो नभए पाइजामा च्यातिन्थ्यो । सम्झदा रमाइलो लाग्छ ।
त्यो जमानामा ‘नानीको आमाले बाह्र धार्नी गुहु खान्छिन्’ भन्थे ।  आजभोलि जस्तो त्यतिबेला पेम्पर हुँदैनथ्यो । नानीलाई पुरानो कपडाको रोसी थाङनामा नै हुर्काइन्थ्यो । थाङना धुँदा नानीलाई स्याहारीसकेपछि नङको चेपचापमा अडकेको गुहु खानासँग थाहै नपाई आमाले खाने हुँदा त्यसो भनिनु ठीक थियो । तर आज भोलि त पेम्पर, न्यापकिन नानी हुक्र्याउनका लागि अनेक सामानहरू छन् । हुने खाने घरमा त लुगा पनि वासिङ मेसिनले धुन्छ । आमाले बाह्र धार्नी गुहु खाने त  के गुहु छुन पनि पर्दैन । यो ७३ वर्षको अवधिमा हर क्षेत्रमा अनेकौं यस्ता परिवर्तनहरू भएका छन् । 
त्यतिबेला जुत्ता चप्पल कोही लगाउदैनथे । ९५ प्रतिशत मानिसहरू खाली खुट्टा नै हुन्थे । गाउँको स्कुले अवधिमा पोसाककै बारेमा पनि आफूखुसी, सिङान पुच्दापुच्दा लेघ्रालेघ्रा परेको बाहुला दौराको, हातखुट्टाभरि पत्रैपत्रा मयल, खाली खुट्टा कुद्यो हिड्यो । पेन्टले प्रवेश गरेकै थिएन गाउँमा, आनन्दको रमणीय तडकझडकविहीन सरल ग्रामिण बालपन । छुट्टीका दिनहरूमा गोठाला जानु, कुलो लाउनु र साथीसाथी मिलेर याङटाङ खोलाको दहमा पौडी खेल्नु केटाकेटी समयको अविस्मरणीय स्मृति बनेको छ । शुक्रबारको हाफ छुट्टी पछि याङटाङ खोलामा सबै स्कुले बिद्यार्थीहरू लगेर दार्जिलिङका सरहरू प्रसाद सोताङ, वेदि प्रसाद र मणि कुमार तामाङले दुङ्गाले घोटिघोटि हातखुट्टाका मयल माड्न लगाउनु हुन्थ्यो । सफाइ सुग्घर हुन सिकाउने त्यस छेकाका उहाँहरू नै पहिलो गुरु हुनुहुन्थ्यो । सास मुखबाट होइन नाकबाट फेर्न सिकाउने पनि उहाँहरू नै हुनुहुन्थ्यो ।
 केटाकेटीको त्यस्तो अवस्था रहेपनि स्कूलमा थुप्रै साहित्यिक पुस्तकहरू थिए । सायद कतैबाट उपहार अनुदान प्राप्त भएको थियो । त्यही गाउँको स्कुलमा नै भीमनीधी तिवारीको    ‘सहनशीला सुशीला’ नाटक र उहाँका कथा सङ्ग्रहहरूको ठाइलो भागसम्म, संक्षिप्त भारत, मुनामदन, बालकृष्ण समको चिसो चुलो आदि थुप्रै पुस्तकहरू पढियो, जसले साहित्यतर्फ लाग्न अभिप्रेरित ग¥यो । 
त्यति बेला पनि दार्जिलिङबाट आएका शिक्षकहरूले स्कूलमा महिना महिनामा कविता गोष्ठि, खेलकुद, वादविवाद  आदि प्रतियोगिता गराउनु हुन्थ्यो । एउटा  कविता प्रतियोगितामा  मैले पनि कक्षा २मा हुँदा भाग लिएको थिएँ । मलाई प्रथम हुन्छु भन्ने लागेको थियो तर दोस्रो भएपछि मलाई प्रतियोगिताप्रति अनार्कषण पैदा भयो । मेरो बाल मस्तिष्कले अब कहिल्यै साहित्य प्रतियोगितामा भाग नलिने निर्णय लियो । त्यसपछि आजसम्म पनि मैले कुनै प्रतियोगितात्मक गोष्ठिमा भाग लिएको छैन । रचना पुरस्कारको लागि नभएर जीवनप्रति आस्था जगाउनका लागि हो भन्ने मेरो विश्वास त्यतिबेलादेखि नै कायम रहेको छ ।
मेरा पिता मछिन्द्र बहादुर राई २०१५सालको आमनिर्वाचनमा उम्मेदवार हुनुभएकोले ११वर्षकै उमेरमा बाल प्रचारक भइयो । राजनीति नबुझि नै त्यतिबेलादेखि नै राजनीतिमा दलेझोले भइयो । दलेझोले भएर ५२वर्ष बिताएपछि दिव्य ज्ञान प्राप्त भयो । भावना मान्छेहरूको मनमा पैदा ग¥यो अनि त्यही भावनामा उधो बगाएर मास्तिर खोज्ने फोहोरी राजनीति मजस्ता झेल गर्न नजान्ने सोझाहरूले गर्ने खेल होइन रहेछ । तापनि राजनीति यस्तो रङ्ग हो जसले कसैलाई पनि छोडदैन । सबैका रगत स्वासप्रस्वास क्षणक्षणको जीवनमा घुलित भई राजनैतिक रङ्गले प्रभाव पारिरहेको हुन्छ । साहित्यमा लागेपछि पनि लेख्दा राजनीतिले मलाई मार्ग निर्देशन गरिरहेकै हुँदो रहेछ ।  राजनीति असल भए जीवन सहज हुन्छ । 
फोहोरी राजनीतिमा असफल भएपछि मैले  अर्को टेक्ने हाँगो सााहित्य बनाउन खोजेँ । ५९ वर्षको उमेर बित्न लागेपछि लाग्यो जीवन निस्सार बितेछ । पत्नीले ‘वृद्धावस्थामा छोराबुहारीहरूले हेरेनन् भने के गर्ने ?’ जटिल प्रश्न सोधिन् । त्यो प्रश्न मनमा खेल्न थाल्यो । वृद्धाआश्रम बनाउन सके त हुन्थ्यो । वृद्धाश्र्रम बनाउन असम्भव लागेपछि कागतमा नै वृद्धाश्रम बनाएर चित्त बुझाउन ‘मानव संसार’ उपन्यास लेखियो । आफ्नै खर्चले छापियो । यो उपन्यास छपाइको पनि आफ्नै कथा छ । 
पुस्तक छापिएपछि  हातहातै बेच्ने सपना बोकेर हामी दुई बुढाबुढी काठमाडौं जाने भयौँ । कोशी नदीले प्रवाह बदलेकोले  डुङ्गामा कोशी नदी तरेर गाडी फेर्दै द्ःखसाथ काठमाडौ पुगियो । छापाखाना  खोजेर छाप्न दियौँ, हप्ता दिनमा नै पुस्तक छापेर छापाखानाले दिने भयो ।  त्यस बीचमा बौद्ध, पशुपति घुम्ने हुँदा पत्नीको डेड तोलाको सिक्री मोटरसाइकलबाट सिक्री तान्ने चोरले तानी दियो । बौद्धदेखि हिडेर नै पशुपति जाने भएर बत्तिसपुतलीको सानो बाटोमा हिडीरहेका थियौँ । मोटरसाइकलमा दुईजना आए, पछाडि बस्नेले सिक्री तानेर लगिहाल्यो । करायौँ । केही मान्छेहरू पनि जम्मा भए । तीव्र गतिको मोटर साइकलमा ती चोरहरू हुइकिहाले । त्यतिबेला आफ्नै पार्टीका बामदेव गौतम गृह मन्त्री थिए । प्रहरी रिपोर्ट गरेमा चोर पत्ता लाग्छ कि सम्झेँ । बेकार झन्झट मात्र ।  सुन त्यतिबेला २२,०००।– तोला थियो । डेडतोलाको ३३,०००।– पनि ‘मानव संसार’ छपाइकै खर्चमा जोडियो । त्यसपछि पो मैले पनि सुन र सिक्रीको याद गर्न थालेँ, बजारभरि आइमाइहरूका घाटिमा सिक्री नै सिक्री देख्छु । राम्ररी नियालेर हेरेँ ‘सुनभन्दा कम छैन’ रहेछ । ‘सुनभन्दा कम छैन’को महत्व मैले पनि त्यतिबेला बुझेँ ।
साहित्यमा लागेको पहिलो अनुभव सुखकर नभएपनि साहित्यकारमा गनिने धुन दिमागमा सवार थियो । भूमिका आख्यानपूरुष ध्रुवचन्द्र गौतमलाई लेखाएको थिएँ । पुस्तक निकाल्नासाथ ‘हटकेक’झैँ पुस्तक बिक्री हुने सपना त्यतिबेला तुहियो जब पुस्तक पसलेहरूले पुस्तक राखेर बेच्नै मानेनन् । ‘जसले गर्छ रहर उसको जान्छ गोठको बहर’ हो रहेछ सम्झेँ । साझा प्रकाशनबाट मेरो कथा सङ्ग्रह ‘अन्तिम स्वीकारोक्ति’ छापिएको थियो । कसो साझालाई दिएमा केही त बेचिदेला भनेर उपन्यास ‘मानव संसार’  र निबन्ध सङ्ग्रह ‘साथी’ एक एक सय प्रति दिएँ । बुझेको बिल आजसम्म राखेकै छु । न पुस्तकको पैसा न ‘अन्तिम स्वीकारोक्ति’को रोयल्टि पाइएको छ । भ्रष्टाचारी माहौलले सबै संघसंस्था यहाँसम्म कि मानिसको दिमागसम्म बिगारेको रहेछ । 
अघि नै भनिसकेको छु अरुले तपाईँ भनुन् नभनुन् आफै मपाई हुनै प¥यो । अब कथाकार भएको दुखेसो पनि पोखिहालूँ । मलाई मैले लेखेका कथाहरूमध्ये ‘नाति’ अति मन पर्छ । किन मन पर्छ ? कारणहरू छन् । त्यो कथा लेखिसकेपछि पत्नी लक्ष्मीलाई पहिलो पल्ट पढेर सुनाएँ । पहिलो श्रोता तिनको प्रतिक्रिया थियो— ‘आँसु आउने खालको छ ।’ म प्रतिक्रिया सुनेर खुसी भएँ । तिनको देहावसान भएपछि पनि त्यो प्रतिक्रिया सम्झिरहन्छु । त्यो कथा प्रकाशनार्थ गरिमामा पठाएँ, पठाएको एक महिनाभित्रै छापियो ।  गरिमाका तात्कालिन सम्पादक अविनाश श्रेष्ठ र गणेश रसिकलाई  साझाकै कार्यालयमा केही समयपछि भेट हुँदा दुवै जनाले सो कथाको प्रशंसा गरे । तर त्यो कथाको दुःिख पात्र ‘कोपा’ म आफै भएको छु अहिले । नाथु कथाकार । मैले किन पत्नी मरेर दुःख पाएको वृद्धको कथा लेखेछु ?
म साहित्यमा लागेर हराएँ कि ? आफैलाई सोध्छु । साहित्यमा नलागेको भए अहिले म के गरिरहेको हुन्थे ? फेरि आफैलाई सोध्छु । म साहित्यमा नलागेको भए झन् कता कता थाहै नपाउने आफ्नै मनको पीडामा झन् झन् हराइरहेको हुन्थे ।  साहित्यमा लागेकोले मेरो वर्तमान एकल जीवन काट्न मलाई सजिलो भएको छ । 
सांसारिक  जीवनको सौन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
यसैलाई बाँच्नेजीवन सुत्र बनाएको छु  र बाँचिरहेको छु । सक्रियता, सेवा, संयम र धैर्यले बाँच्न अधिप्रेरित गरिरहेको छ ।
मेरा  स्कूलमा मिल्ने साथीहरू गणेश रसिक, खम्बप्रसाद राई, कुल बहादुर राई, कृष्ण कुमार राई, फुफू नरदेवी राई आदि थिए ।  ती साथीमध्ये गणेश रसिक भन्नु हुन्छ  ‘अन्तरमुखी स्वाभावका कारण  तपार्इँका रचनाहरू ओझेलमा परिरहेका छन् ।’ हो नि म अन्तरमुखी हुन मन पराउछु । अब त यो उमेरमा झन् कहाँ कता तडकमडक फूर्तीफार्ती देखाउनु ?
 साहित्यकारले आफ्नै खर्चले छापेको साहित्यिक पुस्तक त समाजको अमूल्य सम्पत्ति हुनुपर्ने हो । तर आफ्नै खर्चमा पुस्तक छाप्ने साहित्यकारलाई सबैले वेवकुफ सम्झन्छन् र बनाउछन् । मैले पनि ‘मानव संसार’ उपन्यास नेपालका नाम चलेका  २०० जना साहित्यकारहरूलाई भेटेर ‘उपहार’ टक्राएँ । कसैले पढेको थाहा पाइएन । ती २००प्रति पुस्तक खोलामा फालेको सिक्काजस्तै भयो । कसैले पढेनन् भन्दा नि एघार वर्षपछि त्यस पुस्तकको दोस्रो संस्करण निस्केको जानकारी फेसबुकमा राख्दा भैरहवाका साहित्यकार  कपिल लामिछानेले त्यो त्यतिबेलै पुस्तक पढेको टिप्पणी लेख्नु भएको देखेर मेरो प्रयत्न खेर गएको रहेनछ भन्ने सोच्न पुगेको छु ।
साहित्यकारले आफ्नै खर्चले छापेको पुस्तकको बिक्री वितरणबारे मेरो अनुभव झन् नकारात्मक रहेको छ । मैले   झोलामा मानव संसार बोकेर साथीभाइ संघसंस्था क्याम्पसहरूलाई ‘पुससेल’ गरेर ५०,०००।–को पुस्तक बेचेँ । पुस्तकमा लेखिएको सर्त अनुसार सो रकमको १०प्रतिशत रकम ५०००।–  विश्रान्ति मन्दिरलाई दिएँ  । यसलाई मैले साहित्यमा लागेर प्राप्त गरेको उपलब्धी (आफ्नै लागि मात्र भए पनि) मानेको छु । तर त्यसपछि भने झोला बोकेर आइरहेको मलाई देख्दा साथीभाइहरू भाग्न थाल्छन् कि भन्ने डर भयो । मेरो ‘पुस सेल’को जाँगर पनि मरेर गयो ।
 ‘नौरङ्गी’ र ‘अन्तिम आयाम’ छापिएपछि पनि कैयौं साथीभाइहरूले घरमै आई पुस्तक बेचि दिन्छौँ भनेर आफ्नै खर्चले छापेको ती पुस्तकहरू कसैले२०प्रति कसैले १० प्रति  लगे । म मक्ख थिएँ बेचेर पैसा देलान् । तर उनीहरूले पुस्तक बेचेर सहयोग गर्नुको सट्टा ती पुस्तक लैजाने साथीभाइहरूले न पैसा दिए न फेरि मलाई भेटे । ती त मसँग टाढा टाढा पो भए । पुस्तकले साथीभाइ चिनायो चिडायो । आफ्नै खर्चले पुस्तक छाप्ने म हिन्दीको उखानझै  ‘गाठ भी गवाना, वेवकुफ भी बनना’झँै  भएँ । धेरै साथीभाइहरूलाई पुस्तक उधारो दिएँ, न पढे न पैसा नै तिरे । पुस्तक पसलेलाई पुस्तक उधारो दिनै पर्ने नियमै रहेछ । पुस्तक राख्नै मान्दैनन् राखिहाले पनि बेच्ने चासो  राख्दैनन् । पुस्तक राखेभने पनि पैसा दिदैनन् । हरक्षेत्रको वेइमानीको रोग पुस्तक क्षेत्रमा झन् डरलाग्दो रूपमा फैलिएको तिक्त अनुभव मैले गर्न पुगेको छु । 
साहित्यिक क्षेत्रको सबैभन्दा डरलाग्दो क्यान्सर दलेझोले साहित्य हो । दलेझोले साहित्य भनेको आफ्नो दलको तथाकथित साहित्यकार बाहेक अरुलाई साहित्यकार नै नमान्ने–नगन्ने, आफ्नै दलको दलेझोलेहरू मिलेर गुठ उपगुठ बनाउने र साहित्यलाई पनि आम सर्वसाधारणको पक्षपोषण हुन नदिने  दलेझोले साहित्य हो । त्यो एक प्रकारले फोहोरी राजनीतिकै अङ्ग हुने भएकोले  असल साहित्य र असल राजनीतिको विरोधी हुन्छ । यस्तो दलेझोले साहित्यमा नलागेको हुँदा  मलाई दलेझोले साहित्यकारहरू साहित्यकार मान्दैनन् ।  
म अन्तरमनले देखेको लेख्छु, अब त झन् मर्ने बेला आफू किन बेचिनू । अन्तरमन किन मार्नू । हुन त मपनि ११वर्षकै उमेरदेखि दलेझोले भएकोले दलेझोले भएर नै साहित्यमा प्रवेश गरेको थिएँ । मेरो पहिलो कथा ‘बिहानको प्रतीक्षामा’(जुन कथा ‘अन्तिम स्वीकारोक्ति’ कथा सङ्ग्रहमा पनि प्रकाशित छ ।) नक्सलवादि आन्दोलनले प्रभावित भएर जनमुक्तिको आवाज बुलन्द गर्नका लागि लेखेको थिएँ । जबसम्म म दलेझोले थिएँ लेख्न थाल्दा कतै मेरो लेखन दलको उद्देश्य विपरित भएर  कार्वाहीमा परिने हो कि भनि  ‘कन्सस’ हुन्थे । दलेझोले हुँदा स्वतन्त्र लेखनमा कताकता थोरै बाधा परेको अनुभूति हुन्थ्यो । अहिले म कुनै बाधा ब्यवधान लोभलालच बीना स्वतन्त्र भएर लेख्छु, लेख्न सक्छु ।
स्वतन्त्र ? त्यो हाम्रो दलको होइन । दलीय भागबन्डाले खाएको बिगारेको देश ! कसैले मेरो नाम लिएर  ‘त्यो पनि साहित्य लेख्छ’ भन्यो भने दलेझोले साहित्यकारहरू भन्ने गर्छन्— मुला नाथु कथाकार ! तर स्वतन्त्र लेखनमा लागिरहने मलाई नाथु कथाकार हुनमा आनन्दबोध हुन्छ । युवा तन्नेरी हुँदा आफूलाई अरुकै लहैलहैमा हिडाइयो । अब मर्ने बेला स्वतन्त्र भई आफूलाई आनन्द आउने क्रियाकलापमा संग्लग्न हुन पाउनु अहोभाग्य हो । सबै वृद्धहरूले आफूलाई मन परेको काम गर्ने स्वतन्त्रता पाउनु पर्छ ।

२०७७ भदौ २६

Sunday, September 5, 2021

(लघुचिन्तन)नेपाली राजनीति र साहित्य

 (लधुचिन्तन) 

नेपाली राजनीति र साहित्य


सरण  राई 


नेपाली राजनीति र साहित्य तिन प्रकारको रहेछ |

१.मन्त्र राजनीति र साहित्य

२. यन्त्र राजनीति र साहित्य

३.तन्त्र राजनीति र साहित्य


१.मन्त्र राजनीति र साहित्यको हालीमुहाली र ढलिमली

परापुर्वकालदेखि अहिले सम्म नै चलिरहेको छ | मन्त्र राजनीति भनेको खुसुक्क एउटाले अर्को नेताको कानमा सुनाउने र नेतालाई सिध्दान्त्च्युत गराउने अचुक मन्त्र प्रयोग गर्ने राजनीति हो | उदाहरणका लागि गिरिजाले प्रचण्ड को कानमा त्यस्तो मन्त्र सुनाए कि नेपालको जनयुध्दका सबै आकांक्षा र उद्धेश्यहरु ध्यस्तमात्र भएनन् कि यथास्थितिको प्रखर पहरेदारको रूपमा क्रान्तिकारी नेताहरु प्रकट भए |त्यो मन्त्रको प्रभावबाट अब नेताहरु मुक्त हुने छन् भनि आश गर्नु निरर्थक छ |यति उदाहरणले नै मन्त्र राजनीति कति डरलाग्दो हुन्छ भन्ने थाहा भईसकेको छ | तसर्थ मन्त्र राजनीतिको काट मन्त्र राजनीति नै हो भन्ने पनि बुझ्न आवश्यक छ |अब नचाहिने मन्त्र नसुनेर मुलुक र जनहित हुने नयाँ मन्त्र जप्ने वा सुनाउने बेला भएको छ | त्यो मन्त्र हो "नयाँ राजनैतिक शक्तिलाई साथ दिएर पुराना सढ़े गलेका पतित शक्तिहरुलाई पाखा लगाएर देशको नव निर्माण गर्ने |"


मन्त्र राजनीतिबारे कुरा गरिसकेपछि मन्त्र साहित्यबारे कुरा गर्दा नेपाली साहित्यको आकार विकास नै मन्त्रभित्र खुम्चिएर रहेको पाईन्छ | 'रामायण ' देखि 'माधवी', 'राधा' 'सेतो धरती' सबै मन्त्र साहित्य हुन् यति बुझिसकेपछि तिनीहरुले कसको प्रतिनिधित्व गर्छन र कसको सेवा गर्छन स्पष्ट छ | संकुचित मन्त्रवालाहरुको | मन्त्रवाला साहित्य अब युगपरिवर्तन सापेक्ष नभएकोले 'नयाँ साहित्य'को आवश्यकता भएको हो | संकीर्ण मानसिकता बोक्नेहरुले जति नोक्सान पुर्याए पुर्याए अब तिनीहरुलाई परास्त गरेर नयाँ सोचको राजनीति र साहित्यको विकास गर्नु पर्ने बेला भएको छ |


२. यन्त्र राजनीति र साहित्य- आजको युग यन्त्र युग हो | यन्त्रको विकास, प्रयोग र उपलब्धिले गर्दा विकसित देशहरु सम्पन्न भएका छन् र प्रगतिको उकालोमा निरन्तर  उक्लिरहेका छन् | आधुनिक यन्त्र र प्राविधि नेपाली  राजनीति र साहित्यमा पनि प्रवेश गराएर  यन्त्र राजनीति र साहित्यको विकासद्वारा नेपालको पनि आधुनिकीकरण गर्दै  पुरानो मानसिकताबाट उठेर नयाँ बैज्ञानिक सोच बोकेका  नेपाली जनता आजको आवश्यकता भएको छ | यन्त्र राजनीति र साहित्यले यो आवश्यकता पुरा गर्ने छ |


३.तन्त्र राजनीति र साहित्य -  तन्त्र भनेको पध्दति,नियम, सभ्यता  विकास वा सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र ) हो |सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र ) हाम्रो देशमा पनि लागु होस् , हामी चाहन्छौँ , त्यसका लागि हामी सबै प्रयत्नरत छौँ  |

सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र )  हामीले नै ल्याउनु पर्दछ , त्यो व्यवस्था (तन्त्र ) हामी तन्त्र राजनीति र साहित्यको सुरुवात गरेर प्राप्त गर्न सक्छौँ  |


समय बलवान हुन्छ समयलाई चिनौँ  | हामीलाई थिचिरहेको सामन्ती निरंकुशताको आकाश सकिएर गणतान्त्रिक व्यवस्था हाम्रा निम्ति हामीले ल्याएका छौँ  , यो कुनै नेताको इच्छाले आएको होइन | यसको सदुपयोग हाम्रा लागि हामी आफैले गर्नु पर्दछ |


('आवश्यक/अनावश्यक लधु चिन्तन'का आवश्यक चिन्तन स्विकार्ने र लागु गर्ने , अनावश्यक चिन्तन  भए खण्डन गर्दै बहिस्कार गर्ने विवेकशिल पाठकहरुलाई हार्दिक स्वागत छ !) 

२०७० भदौ १९

Sunday, August 1, 2021

(लघुचिन्तन) नाैलाे साेच र कार्यनीति

 

(लघुचिन्तन)
नाैलाे साेच र कार्यनीति
 
सरण राई
 
याे पुस्तासम्म आईपुग्दा हामीले यति धेरै थिचाेमिचाे पक्षपात शाेषण दमन र प्रताडना भाेगेका छाैँ कि अब चाहन्छाैँ ती गलत अमानवीय कुरूप कामकारवाहि र पक्षपातपूर्ण व्यवस्था साेच सदाका लागि अन्त हाेउन् । हामीलाई थिच्नेहरू सदाका लागि सकियुन् ।
साेचेर मात्र हाम्रा लागि सुन्दर युग आउँछ त ?
समानता र न्यायकाे युग ल्याउन उत्पीडनमा पारिएका शाेषित उत्पीडितहरूलाई अहिले उत्पीडनबाट मुक्त हुन सुन्दर संसार निर्माण गर्न नाैलाे साेच आवश्यक भएकाे छ । असंख्य सिध्दान्त दर्शन विचारहरू छन् तर तीनीहरूकाे प्रयाेग पुरातनवादिहरूले निमुखा सर्वसाधारण आममान्छेहरूलाई शाेषणकाे जालमा अल्झाई राख्न चलाखिसाथ उपयाेग गरिरहेका छन् । बिचरा सर्वसाधारण रुँद‌ै छट्पटिद‌ै मर्न विवश छन् । दल र सिध्दान्तकाे खाेल जनता मार्न, शाेषण गर्न, झुक्काउन प्रयाेग भईरहेकाेमा अब त देशै बेच्ने-सक्ने खेलमा खुलेआम प्रयाेग हुँद‌ै छ । तथाकथित किनिएका नेता, बुध्दिजीवी, कर्मचारी, कार्यकर्ता लठैतहरूले देश जाेगाउने-बनाउने आश अब रहेन ।
सांसद हुनु, नेता हुनु, मन्त्री-प्रधानमन्त्री हुनु भनेकाे देश बेच्ने अधिकार पाउनु कदापि हाेइन । तसर्थ राष्ट्रघात गर्ने राष्ट्रघातीहरूलाई नाङ्गेझार पारेर झुण्डाइएन भने पछि पछुताे गर्दै विदेशीकाे गुलाम भइने हुन्छ । तसर्थ जनघाती-राष्ट्रघातीलाई सखाप अभियान चलाउन सारा राष्ट्रवादी देशभक्तहरू एकजुट भई देश जाेगाउन अगाडि आउनु पर्ने भएकाे छ ।
आफूलाई जनघाती राष्ट्रघातीकाे पुच्छर अराैटे-भराैटे हुन नदिई सार्वभाैमसत्ता जाेगाउन नागरिककाे भूमिका पालन गर्न याे वर्तमान पुस्ताकाे महान् दायित्त्व भएकाे छ । सबै सर्वसाधारण आम मान्छेका लागि समानता र न्यायका पक्षमा एकजुट भएर बिकेकाहरूलाई सखाप अभियान सञ्चालन गरी देश बचाउँ । याे नेपाल आमाकाे पुकार हाे ! सत्य र न्यायमा आधारित नाैलाे साेच विकास गराैँ !
जय नेपाल र जय नेपाली !!!
🌹
२०७८ साउन १७
🌹
🌹

 
 
🌹

🌹


Monday, August 19, 2013

( संस्मरण ) हार्नहार्न लागेको बेला

( संस्मरण )
हार्नहार्न लागेको बेला

सरण राई

कृष्ण धरावासी 'समस्ति'को सम्पादक भएका बेला एउटा रचना दिन गएको थिएँ | वहाले उमेर सोधेर ६० नाघेको भनेपछि संस्मरण लेख्नुहोस् भनेका थिए | मजस्तो सर्वसाधारणको सस्मरंणको के अर्थ होला र ? भनेर लेख्ने मन कहिल्यै गरिनँ |

आज म अवकाशप्राप्त सह प्राध्यापक , जागिर , काम धन्धा नभएको , त्यसो भएपछी साथीभाई पनि नभएको अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुग्न लागेको मान्छे कसरि बाँचिरहेको हुँला ? प्रश्न उब्जिन्छ मनभरी |

जीवनका कैयो उतार चडाव, उकाली ओराली , आरोह अवरोहमा हतोत्साहित नभई जीवन गुजार्ने मैले आफ्नो गोप्य गन्तव्य बनाएको थिएँ | त्यही गन्तव्यका लागि बाँचियो | त्यो गन्तव्य समय र उमेर अनुसार परिवर्तन भएको छ तर मूल ध्येय 'मानव सेवा'भने अपरिवर्तनीय नै रहेको छ |

मानव सेवाको लागि कुनै समय सामाजिक सेवा , राजनीति , शिक्षा आदि माध्यमहरु अपनाइयो | सफलता असफलता दुवै भोगियो र अनुभव बटुलियो जुन अनुभव 'कपाल नभएको मानिसको लागि काइयो' जस्तै भएको छ |

अवकाशप्राप्त भएपछी साहित्य लेखनको धुन चड्यो | कम्प्युटर टाइप गराउन पसल पसल चाहर्नु पर्ने भयो | आफै सिक्ने विचार गरेँ , एकजना साथीलाई पनि भने "के को कम्प्युटर ? २० ,२१ उमेरका केटाहरुको काम !" तर मैले सिक्न छोडिनँ र आज यो अवकाशप्राप्त एक्लो जीवनमा काम लागिरहेको छ | यो कम्प्युटर, फेसबुक , ब्लग , ट्वीटर , गुगल्स , याहु आदि नभएको भए म के गरिरहेको हुन्थे होला ? ५२ पत्तीमा हुने धेरै सम्भावना थियो जसमा मेरा धेरै साथीहरु लागेका छन् |

अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुगेको म बेला बेला निरास , हतोत्साहित हुनु स्वाभाविक हो | यसरी हतास भएको बेला आफैले आफ्नो मनलाई सम्झाउँछु 'अब आफ्ना कामहरूको (फिनिसिङ् टच दिने ) बिट मार्ने ' | 'नयाँ कुरा सिक्ने जाँगर भइन्जेल मानिस बुढो हुदैन ' भनेझैँ नयाँ कुरा सिक्ने कोसिस गरिरहने | सिक्ने क्रममा यो संस्मरण सोझै फेसबुकमा लेखिरहेको छु , लेख्न सिकिरहेको छु |

हार्नहार्न लागेको बेला म आफ्नो हार स्वीकार्न चाहन्नँ र हारलाई जितमा बदल्न आफ्नो गन्तव्य , ध्येय र मेरो जीवनको मुल्य के हो आफैसँग सोध्ने गर्छु ? संस्मरण लेख्ने बिचार मनमा आउँछ , यो लेखनले मलाई केही दिन एक्लोपनबाट निश्चित रूपमा टाढ़ा राख्नेछ,हार्नहार्न लागेको बेला जितको अनुभूति दिलाउनेछ |

क्रमश :

  • Pabidhan Khaling kaiyo kapal nhunelai po kam lagdain tara jasko kapal6 uslai ta jarurt pr6 tesaile tapaiko smsmrn chadai awos suvek6ya6 hamro.




  • Krishna dharabasi daiko sujhab thik ho daju hajur tapaiko anubhab hamile ni padhnu paunu parxa.tapaiko sasmaranle ojhelma pareka harulai prakash milnexa....

  • कृष्ण सुमा 'याक्खा' राई मैले तपाईको दुखेसो सबै पढ्नपाय खुशीलागो।
    यस्तैहो नेपाली भनेको भाईमारा खालहो जो दुखमाछ तेसलाई उकाशने प्रबीदीछैन आफै खाऊ आफै लाऊभन्ने चिन्तनले हाम्रो नेपाल र नेपाली पछीपरी रयकोछ। धैरेगरनु प्रर्छ संघस गरनुप्रर्छ अबसे श्रृजनाको बाधले एकदीन माछा मरनेछ।

Sunday, April 28, 2013

चिन्ता गर्नुपर्छ


(निबन्ध)
‘साथी’ निबन्ध सङ्ग्रहबाट

चिन्ता गर्नुपर्छ

सरण राई

‘क्स्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ?मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने  मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि  नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् । कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ?
बिहे भइसकेको भए स्वास्नीबारे चिन्ता गर्नुहोस् । कस्ती रहिछ,, यसो राम्राराम्रा लक्काजवानहरूप्रति आकर्षित भएर लहसिनु पर्ने, लहसिन्न भने पक्का केही यौनजन्य खराबी छ नपुंसकताको लक्षण हो कि ? एकै पुरुषसँग तृप्त हुने आइमाईमा पक्कै केही शारीरिक खराबी छन् । लोग्नेको बारेमा पनि स्वास्नीले त्यसरी नै चिन्ता गर्न सक्छिन् । कस्तो लोग्नेमान्छे भएर पनि अरु आइमाईसँग नलागेको ? चिन्ता गर्न थाल्नुहोस् । यदि विवाह भएको छैन भने बिहे नभएकोमा केटा वा केटीहरूले तपाईँलाई नहेरेकोमा चिन्ता गर्नुहोस् । चिन्ता गर्नु भएन भने आजीवन कुमार वा कुमारी रहनु होला । चिन्ता गर्न थाल्नुहोस् ।
अझै तपाईँ चिन्तित हुनुहुन्न भने आफ्नो जीवनसुरक्षाबारे चिन्ता गर्न थाल्नुहोस् । बन्द, तोडफोड, आगजनी, हिंसाहत्याको क्रमबद्ध सिलसिलामा तपाईँ कुनै बेला कुनै स्थानमा पनि मारिन सक्नुहुन्छ । मारिनुभयो भने कुकुरको जति सम्मान प्राप्त हुनेछ । मारिनु भयो भने त सब समाप्त भइहाल्यो । दस लाख उम्कियो, नमारिएकोमा चिन्ता गर्नुहोस् । मानिस प्रत्येक दिन निरन्तर मारिएको छ । दोहारो भीडन्त, बन्द, हडतालमा गोली हानाहान भएर पहिरोले पुरिएर, बाढिले बगाएर, डाँकाले गोली हानेर दुर्घटना भएर आदिआदि कारणहरूले मानिस मरिरहेका वा मारिएका छन् । जन्मेपछि मर्नुपर्छ नै, जसरी भएपनि आखिर मर्ने चोला नै हो, मर्ने र मारिनेहरूका लागि केको चिन्ता ? जब मुलुकको सरकार यी यस्ता अस्वाभाविक मृत्युहरूबारे चिन्तित छैन—  तपाईँ हामीले चिन्ता गर्नुपर्ने कुनै तुक छैन । बरु यस्तो अराजक वातावरणमा  पनि बाँचिरहेकोमा चिन्ता गर्न थालौँ ।
अन्न उब्जनी भएन, चिन्ता नगरौँ । विदेशबाट सडेको अन्न आउनेछ । कारखाना, उद्योग, बन्दव्यापार बन्द छ। बन्द भएर के भयो ? चाउरी नै चाउरी परेको चेहरा भएको प्रधानमन्त्री, मन्त्रीहरूका चेहरामा अटाइनअटाइ मासु लागेर पाक्कपुक्क, रातोपिरो, खाइलाग्दो चेहरा भएका छन् । उनीहरूको चेहरामा देखा परेको सन्तोषको रेखाले उनीहरूको हात राष्ट्रको ढुकुटीमा पुगेको प्रष्ट हुन्छ । आर्थिक, राजनैतिक सुरक्षा सरकारमा पुगेकाहरूले प्राप्त गरेकै छन् । मधेस जलोस् वा पहाड, मुलुक नै जलेर स्वाहा भएपनि तथाकथित राजनेताहरूलाई चिन्ता लाग्दैन । उनीहरूको भागमा नपरेको चिन्ता सर्वसाधारणको भागमा परेको छ । तपाईँ त मन्त्री हुनुभएको छैन, मन्त्रीजस्तो निस्फिक्री बस्न सर्वसाधारणलाई सुहाउँदैन, तसर्थ खब चिन्ता गर्नुहोस् ।
अझै चिन्ताका विषयहरू प्रशस्त पाइएनन् भन्ने लाग्छ भने आफ्ना जन्मेका  वा नजन्मेका छोराछोरीहरूबारे  चिन्ता गर्नुहोस् । किन जन्मिएनन् छोराछोरीहरू ? एक चिन्ता । जन्मिसकेपछि दस चिन्ता । छोराछोरीहरू राम्ररी पढिरहेछन् । चारैतिर सहज ढङ्गले प्राप्त दुव्र्यसनका वस्तुहरू हुँदा पनि दुव्र्यसनमा छोराछोरीहरू नलाग्नु चिन्ताको विषय होइन र ? छोराछोरीहरूले बेवारिसे बम खेलाउन नपाउनु अर्को चिन्ताको विषय । स्कूलै रित्तो हुनेगरी जनसेनामा भर्ति हुन नपाउनु, स्कुलै बन्द गरेर सेनाको ब्यारेक स्कुलमा नबस्नु, शान्ति बहाली होला कि भन्ने डर भइरहनुजस्ता कुराहरू चिन्ताको प्रचुर विषय भएनन् ? संबिधान कस्तो बन्ला ? संबिधानसभाको चुनाव हुने हो कि ? जनता सार्वभौम बन्ने हुन् कि ? राजनीतिमा सर्वसाधारणको संलग्नता हुने हो कि ? अनिश्चित जोखिमले भरिपूर्ण जिन्दगीको के भरोसा ? थालेको कामहरू पूरा हुने हो–होइन । हिँड्दाहिँड्दै एम्बुसमा परेर मारिनेहरू नहुने हुन् कि ? आफ्नो भाइ, भतिजा, छोरीज्वाईँलाई टिकट दिन नपाइने हो कि ? लोकतन्त्र त प्रतिगामी पुनरुत्थानवादीहरूलाई चाहिएको छ, आन्दोलनकारीहरूले पनि लोकतन्त्रको उपभोग गर्ने हुन् कि ! लोकतन्त्रमा फर्जि मत दिन नपाइने हो कि ? छिमेकि देश भारतमा जस्तै पैसा, गुन्डा र धनी मानीहरूको लोकतन्त्र ल्याउन नपाइने हो कि ? शस्त्रधारीहरूले दिउँसै सर्वसाधारणको हत्या, अपहरण, लुटपाट गर्न नसक्ने वातावरण पो बन्ने हो कि ? मानवअधिकार बहाल हुने हो कि ? आदी अनेकौ चिन्ताको विषय होलान् । तर सर्वसाधारणको चिन्ताको विषय चाहीँ पुराना बगम्फुसे पाखण्डी नेताहरू जो समाजलाई बदल्न चाहदैनन्, तिनीहरूको अन्त भएको दिन देख्न पाइने हो  कि होइन भन्ने हो ।
अब त तपाईँ पनि खुब चिन्ता गर्न थाल्नुहोस् । चिन्ताले तपाईँलाई सब प्रकारको सांसारिक दुःख, झमेला, शोकसुर्ताबाट मुक्त गर्दछ । ‘चिन्ताले चितासम्म पु¥याउछ’ उखान मुताविक खुब चिन्ता गर्नुहोस् । राम्रा कामहरूका लागि होइन, असम्भव काल्पनिक दुःखका बारेमा खुब चिन्ता गर्नुहोस् । आकाश खस्न अाँट्यो, खुत्रुक्कै भइने हो कि ? दुर्घटनाको सिकार भइने हो कि ? आफूले विश्वास गरेक आफ्नाहरूले नै विश्वासघात गरेर दस बल्ड्याङ खुवाउने हुन् कि ? कसैलाई विश्वास नगर्नुहोस् । विश्वास गर्न  सकिने इमानदार मान्छे आजभोलि कहाँ पाउन सकिन्छ र ? धोका, विश्वासघात हुने सम्भावना छ  तसर्थ यस सम्बन्धमा पनि खुब चिन्ता गर्नुहोस् । साथै सतर्क रहनुहोस् । अरुले धोका दिनुभन्दा अगाडि नै चिन्तित भइरहनुहोस् । चिन्ता गर्नुहोस् र चितासम्म पुगेपछि सब दुःख निवारण हुनेछ । तसर्थ चिन्ता गर्नुहोस्, खुब चिन्ता गर्नुहोस् ।


गरिमा ,२०६४, भदौ , पूर्णङ्क २९७ मा पहिलो पल्ट प्रकाशित



साहित्य , संस्कृति र नविन सम्बोधन

साहित्य , संस्कृति र नविन सम्बोधन


नेपालमा विभिन्न राजनैतिक व्यवस्था फेरिदा पनि साहित्य,सस्कृति र सम्बोधनका तरिकाहरु फेरिएका छैनन्  | आजसम्म लेखिएका साहित्य ,संस्कृति  र सम्बोधनका तरिकाहरु अधिकांश रूपमा सामन्ती व्यवस्थाको उपज नै रहिआएका छन् |सामन्ती व्यवस्था, संस्कार र परिपाटीलाई टेवा पुर्याउने साहित्य , संस्कृति र सम्बोधनका तरिकाहरु नै अहिलेसम्म  जारी छन् |मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा साहित्य, संस्कृति र सम्बोधनका तरिकाहरु पनि युगसापेक्ष नविन हुनु पर्ने हो |पुराना साहित्य , कला, संस्कृति , रीतिथीति , चलन, प्रचलन , मुख्यतया जीवन पध्दति , सोच र क्रियाकलापहरु जस्ताको तस्तै  रूपमा रहन सक्दैनन |तिनीहरुको स्थान नयाँले लिनेछन् तर त्यो नयाँ पुरानाहरुभन्दा उत्कृष्ट हुन् जरुरी  हुन्छ |पुरानाका पनि राम्राहरु अङ्गीकार गर्ने र नयाँको नाममा अन्धाधुन्ध पाश्चात्य साहित्य,संस्कृति र रहनसहनको नक्कल गर्नु पनि उपयुक्त हुँदैन |
आजसम्म लेखिएका नेपाlली  साहित्यको गहन अध्ययन गरी पुनर मुल्याङ्कण गर्नु पर्ने भएको छ | आजसम्मको साहित्यले कसको सेवा गरीरहेको थियो र कस्तो संदेश प्रचारित गरिरहेको छ भन्ने बुझ्न जरुरी छ |अब लेखिने साहित्य पनि तिनै साहित्यको जगमा नै लेखिने हुँदा पुराना साहित्यको
मुल्याङ्कण गर्नु पर्ने आवश्यकता हुन् गएको हो | असल साहित्यको सरक्षण र मुलुकलाई प्रतिगमन तिर लैजाने साहित्यको आलोचना गर्दै त्यस्तो साहित्यको बहिस्कार गर्नु जरुरी भैसकेको छ |अब लेखिने साहित्य भावी पुस्तालाई अग्रगमनतिर लैजाने र नेपाली  साहित्यलाई पनि विश्वसाहित्यको स्तरमा पुर्याउने किसिमको हुनपर्छ |
आज सम्मका सास्कृतिक क्षेत्रका र सस्कृतिको पुनर्मुल्याङ्कण हुने नै छ | खिया लागिसकेको , मक्किएको मानसिकता बोकेर आधुनिक हुन् सकिदैन |आधुनिकताको नाममा जुन उपभोक्तावादी संस्कृति भित्रिदै छ , त्येसको पनि उपयुक्त चर्चा गरी एउटा निश्चित निष्कर्स निकाल्न आवश्यक छ |
भूमण्डलीकरण र विश्व ब्यापार संगठनको सदस्य बनिसकेको नेपाल संस्कृतिको दोहोरो चेपुवामा परिरहेको छ , अझ चर्को दवावमा पर्ने निश्चित छ |कस्तो संस्कार , रीतिथिती अथवा जीवन पध्दति अपनाउदा उपयुक्त होला , सोच्ने बेला आईसकेको छ | नेपाल पनि विश्वबाट अलग्गिएर एक्लै  बेग्लै बस्न सक्दैन , त्यसो भन्दैमा आफ्नो चिनारी नभएको नेपाल हाम्रो चाहना हुन सक्दैन |
सम्बोधनको तरिका भन्नाले अनेकौ अर्थ लाग्न सक्छन |ती सबै अर्थलाई नसमेटेर खालि बोलाउदा प्रयोग हुने विशेषण अथवा बोल्ने ,बोलाउने वा बुझाउने प्रक्रियाको  मात्र यहाँ सन्क्षिपत चर्चा गरिने छ | विश्वका हरेक देशमा मानिसको परिचय गराउने फारामहरु भर्दा पहिलो नाम र अन्तिम नाम भराइन्छ तर नेपालमा भने नाम मात्र भराइन्छ| यसपालिको जनगणनामा नाम पछी जात पनि भराइको देखियो | कुन कुन जात कति छन् भन्ने जान्न जरुरि भएकैले त्यो भरिएको होला |जातीय आधारमा संघीय राज्यको कुरा उठिरहेको बेला जनसंख्या पनि एउटा आधार हुन् सक्ला | यो लेखमा यी विविध राजनैतिक कुराहरु बारे बहस उठान गर्नु नभएर अहिले सम्म हाम्रा अखबारहरु,साहित्य , रेडियो र बोलचालमा जातको आधारमा सम्बोधन गर्ने परिपाटीको मात्र चर्चा उठाईएको हो |उदाहरणको लागि रेडियो सुन्दा पहिलो पल्ट राष्ट्रपति डा. राम वरण यादव भनिन्छ | त्यसपछी राष्ट्रपति यादव |साहित्य क्षेत्रमा  पहिलो पल्ट डा. ध्रुवचन्द्र गौतम त्यसपछी गौतम | पत्र पत्रिकामा पनि पहिलोपल्ट प्रधानमंत्री झलनाथ खनाल  अनि पछी प्रधानमन्त्री खनाल भनेर सम्बोधन गरिन्छ |
महेन्द्र क्याम्पसका स्नात्तकोतरमा  अध्यायनरत बिध्दार्थिहरुले मेरो पनि तीनवटा शोधपत्र तयार गरि सकेका छन् | पहिलो पल्ट साहित्यकार सरण राई लेखेका छन् | त्यसपछी राई, राई लेखेका छन् | साहित्यकार राईको लेखनी हेर्दा , कवि राईको कविता पढदा ....|ती बीध्दार्थीहरुको शोधपत्र हेर्दा म राई नभई सरण मात्र अथवा साहित्यकार , कवि मात्र रहन सकिनॅ | साहित्यकार हुँदा पनि साहित्यकार राई , कवि हुँदा पनि कवि  राई | ती शोधपत्रहरु पढुन्जेल मैले स्स्फुलाई एउटा साहित्यकार सरण राई , साहित्यकार सरण पाइनॅ , म राई, राई नै भैरहें | मेरो निजी व्यक्तित्वराई मात्र रही रह्यो , म साहित्यकार सरण हुन्  सकिनॅ |त्यहाको लेखाईले त्यस्तो मेरो व्यक्तित्वको बिकास हुने दिएन |अरु पढ्नेहरुले पनि मलाई पहिले सरण राई देखें पनि पछाडी राई मात्र देख्न थाल्नेछन् | राई नसम्झी  एउटा साहित्यकारको रुपमा मलाई एकै क्षण पनि मूल्यांकन गर्न उनीहरु सक्षम हुन् सक्तैनन |पलपल हरफहरफमा राई, राई भनेर पढ्नेहरुलाई तेस शोधपत्रले सम्झाई दिन्छ |यो ती बीध्यार्थीहरुको दोष होइन | हाम्रो अहिलेसम्म चलिआएको स्थापित लेखनपध्दति वा सम्बोधन पध्दतीको  को दोष हो |
राष्ट्रपति रामवरण यादवलाई रेडियोले , अखबारहरुले र सम्बोधन्रहरुले मलाई जस्तै एकै क्षण पनि यादव नभई नेपालीको खुट्टामा रामवरणको दिमागमा उभिन सोच्न दिदैनन् |उनी बिर्सन चाहेर पनि यादव नै रहन्छन् |जति गरे पनि राष्ट्रपति रामवरण हुदैनन् | राष्ट्रपति यादव हुन्छ, यादव, यादव यादव | उनलाई यादवकै दिमागले सोच्न विवश पारिन्छ |यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई , मन्त्रीहरुलाई प्रशासनका अरुहरु सबैलाई यी सम्बोधन्हारुले आफु कुन जातको हो , बारम्बार सम्झाई रहन्छन् | अरुहरुलाई पनि त्यो फलानो फलानो जातको भनेर सम्झाई रहन्छ |अब रेडियो , खबर कागज , पत्र पत्रीका र साहित्यहरुमा सम्बोधन गर्दा पनि राष्ट्रपति ड़ा. रामवरण यादव भन्ने र त्यसपछी राष्ट्रपति ड़ा. रामवरण मात्र  भन्दा राष्ट्रपति ड़ा. रामवरण यादवले आफुलाई आफ्नो छुट्टै  रामवरणको व्यक्तित्वमा अनुभव गर्न पाउछन् कि !यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई पहिलो एकचोटी  प्रधानमन्त्री झलनाथ खनाल भन्ने त्यसपछी  प्रधानमन्त्री झलनाथ ,मन्त्रीहरु भए    उनीहरुको पहिलो नामबाट अथवा सबैलाई पहिलो नामबाट सम्भोधन गर्दा उपयुक्त होला कि ! छलफल गरेर निष्कर्समा पुग्न जरुरी भएको छ |
अहिलेको समयमा थुप्रै नेपाली इन्टरनेट चलाउने भैसकेका छन् |इमेल खोल्दा पनि पहिलो र अन्तिम नाम लेख्नु पर्छ  | फेसबुकमा अथवा नेटमा जहा पनि पहिलो र अन्तिम नाम भर्नु पर्छ | इमेलमा याहु, जिमेल, हटमेल ,फेसबुक कुनैले पनि मलाई हाइ राई भनेर सम्बोधन गर्दैनन्  अथवा अन्तिम नाम जातको आधारमा सम्बोधन गर्दैनन् |हाय सरण, हाय सरणकुमार ... भन्छन् | जर्मनीमा त जातको आधारमा सम्बोधन गर्न नपाइने कानुन कानुनी छ रे भन्ने जर्मनबाट फर्केका ड़ा . कालुराम खम्बुले मलाई सुनाएका थिए | त्यससम्बन्धी मलाई पूरा जानकारी नभर पनि सुन्दर , समुन्नत , सम्पन्न  र शान्त नेपालको निम्ति राष्ट्रिय एकताको शुत्रमा बाँधीएका सम्पूर्ण नेपालि हुन् जरुरि छ |प्रत्येक क्षण प्रत्येक पल आफ्नो जात सम्झाइरहने सम्बोधनले हामीलाई जात बिर्सेर नेपालि हुन् कति मद्दत गर्ला ? तसर्थ हाम्रो आफ्नो निजी व्याक्तित्वको विकासका लागि पनि र सम्पूर्ण नेपालीको राष्ट्रिय एकताको मजबुतीका लागि भए पनि जातको आधारमा  सम्बोधन गर्ने पध्दति , तरिका आजकै मितीदेखी रेडियो, खबर कागज , साहित्य र बोलीचालीमा छाड़ौ |उदाहरणका लागि - राष्ट्रपति रामबरण , प्र्शान्मंत्री झलनाथ , साहित्यकार ध्रुवचन्द्र ,साहित्यकार सरण, पत्रकार राजकुमार भनेर लेख्न ए बोल्न थालौं | यसलाई अभियानकै रुपमा अगाडी लैजाऔ | आगे तपाईहरुको मर्जी |

साभार —ब्लास्ट टाइम्स ,२०६८ भदौ ७ गते शुक्रबार

औसत मान्छे

निबन्ध

औसत मान्छे

सरण राई

मान्छे मान्छेहरूको असंख्य भीडमा मान्छे आफ्नो औकात र अस्तित्व खोज्न तल्लीन देखिन्छ । म के हुँ ? मैले के प्राप्त गरेँ जीवन यात्रामा ? मैले विविध फाँटमा गरेको समय, उमेर र प्रयत्नको लगानी उत्पादक भयो कि अनुत्पादक ? मानिसहरूको आँखामा मेरो स्तर, महत्व र औचित्य कस्तो छ ? आदि अनेकन प्रश्नहरूको उत्तर खोज्दा अधिकांश मान्छेहरूले  जस्तै मैले पनि आफूलाई औसत मान्छेभन्दा तलकै अवस्थामा पाउँदा दुःख मान्ने कि सन्तोष ? छुट्याउन नसकिने अवस्थामै म घोत्लिन थाल्छु— औसत मान्छे भनेको के ? कस्तो हुन्छ ?

औसत मान्छे आम मान्छे, सर्वसाधारण वा सामान्य मान्छेहरूकै प्रतिनिधित्व गर्ने मान्छे होला । अङ्क गणितीय आधारमा औसत मान्छे निकाल्दा सबैभन्दा धनी र सबैभन्दा गरिब, सबैभन्दा बुद्धिमान र सबैभन्दा बढी मुर्ख, सबैभन्दा सुन्दर र सबैभन्दा कुरूप अथवा  सबैभन्दा सुखी  र सबैभन्दा दुःखी  आदिको औसत नै औसत मान्छे हुनुपर्ने हो तर यसो गर्दा पनि ‘औसत मान्छे’ परिभाषित गर्न अफ्ठ्यारो नै महसुस हुन्छ । आयु, उचाई र शारीरिक बनोटका सम्बन्धमा चाहिँ औसत निकाल्न सजिलो देखिएको छ तर अन्य विषय वा कुराहरूका आधारमा चाहिँ औसत मान्छे कसरी चिन्ने ?जटिल नै देखिन्छ । विश्वका वा कुनै देशका मान्छेहरूका औसत उचाई र आयु निकालिए जस्तै  औसत मान्छेको स्वभाव, आचार, विचार, व्यवहार, अवस्था वा स्थितिहरू पत्ता लगाउन खोजियो भने त्यो त्रुटिपूर्ण हुन जान्छ । औसत बुद्धिकै प्रयोग गरेर औसत मान्छे चिन्ने प्रयत्न गर्नु उपयुक्त होला कि !
अब फेरि प्रश्न उठ्छ औसत बुद्धि भनेको के नि ? अहिलेलाई यति नै भनौँ यो निबन्ध लेख्ने मेरो र यो निबन्ध पढ्ने तपाईँको बुद्धि नै औसत मानौँ । हुन्न ?
औसत मान्छेलाई देख्दा खेरी नै चिन्ने सजिलो तरीका छ । लवाई–खुवाई, बोलाई, चलाई, हँसाई, हिँडाई, कुदाई, बसाई–उठाई, पढाई–लेखाई जस्ता कुराहरूबाट सजिलै औसत मान्छेलाई चिन्न सकिन्छ । जो औसत वा  औसतभन्दा तलका कुराहरूमा भुलिएको देखिन्छ, त्यो नै औसत मान्छे होला । औसत मान्छेकै लागि सम्पूर्ण आविष्कारहरू गरिएका हुन्छन् । अझ राजनीति र साहित्य त औसत मान्छेकै लागि गरिएको र लेखिएको हुन्छ । राजनीतिमा लागेको अथवा राजनीतिको नसामा डुबेको मान्छे राजनीतिको सबै घटनाहरूलाई अत्यन्त रुचीका साथ हेरिरहेको हुन्छ, आफ्नै प्रकारले व्याख्या गरिरहेको हुन्छ, आफ्नो अनुकूल–प्रतिकूल हिसाब लगाई रहेको हुन्छ  र गमक्क पर्छ आपूmले मन पराएको आफ्नो दलको मान्छे मन्त्री हुँदा (सोच्न पुग्छ ऊ आपैm मन्त्री भएको छ), मक्ख पर्छ आफ्नो अघोषित प्रतिद्वन्द्वी छिमेकिलाई नीचा देखाउन पाउनेछ भनेर । तर दलभित्र अथवा राजनीतिमा उसको स्थान औसत नै हुन्छ । उसको आफ्नो दलको मन्त्रीले उसलाई चिन्न पनि मान्दैन । आफ्नो दलको सरकारले गर्ने विभिन्न पदहरूको राजनैतिक नियुक्ति मनोनयनमा औसत मान्छेको नाम पर्न सक्तैन र औसत मान्छेले कुनै प्रकारको फायदा, उपलब्धी वा मान सम्मान केही पाउँदैन  तर उसलाई थाहा हुँदैन— ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ।’

राजनीतिमा औसत मान्छेको स्थान ताली पिट्ने मात्र हुन्छ । उफ्री उफ्री जुलुसमा नारा लगाउने हुन्छ । कहिल्यै नेता बन्न नपाउने कार्यकर्ता (सहानुभूति देखाउनका लागि कार्यकर्ता भनिएको हो) हुन्छ । ‘मेरो पार्टी’ भनेर नाक घोक्र्याउने, मेरो पार्टीको सरकार भनेर फूर्ति लगाउने तर पार्टी र सरकारको रस, तर वा फल चाख्न नपाउने निम्न स्तरिय निरस, निरीह र उल्लु औसत कार्यकर्ता ! ढुङ्गा हान्नु प¥यो, रेलिङ्ग भाच्नु प¥यो वा पार्टीका लागि लज्जास्पद कामहरू गर्नु प¥यो भने चाहिन्छ औसत कार्यकर्ता । औसत मान्छे राजनीतिमा पनि औसत कार्यकर्ता नै भएर कहिले माथि पुग्न नसक्नेहरूमध्येकै औसत हुन्छ । औसत रूपमा ऊ लेभी तिरिरहेको हुन्छ, चन्दा वा शुल्क दिइरहेको हुन्छ  र औसत राजनीतिज्ञ भइरहेको भ्रम पालिरहन्छ ।
आफूलाई औसत राजनीतिज्ञ ठान्नेहरू जसको राजनीतिमा कुनै प्रभाव हुँदैन, स्थान हुँदैन तर सामान्य र सर्वसाधारण र निम्न तहका जनसमुदायका नजरमा आपूmलाई राजनीतिक जानकारी राख्ने औसत रानीतिज्ञ देखिन आफ्नो समग्र जीवन बिताउन तयार देखिन्छ ।
औसत मान्छेका लागि लेखिएका औसत साहित्यिक कृतिहरूले टम्म भरिएको छ, साहित्य भण्डार । साहित्यमा औसत प्रेम, औसत शोषण–उत्पीडन, औसत यौन, औसत जीवनका अनुभूति आदिबारे वर्णन गरिएको साहित्यले औसत मान्छेलाई यति धेरै आनन्दातिरेक बनाएको छ कि त्यो साहित्य नहुनु हो भने औसत मान्छेहरू अत्यन्त दुःखी हुने थिए । साहित्यमा औसत साहित्यिक पाठकहरू यति महत्वपूर्ण छन् कि उनीहरूकै लागि साहित्यिक रचना गरिन्छ, साहित्यिक उछिन्पाछिन्, प्रतियोगिता वा सृष्टि गरिन्छ । ती सृष्टिमध्येको यो अहिले तपाईँले पढिरहनु भएको औसतभन्दा तलको निबन्ध पनि अहिले तत्कालका लागि महत्वपूर्ण सृष्टि हो (किनभने तपाईँ यो पढिरहनु भएको छ), उत्तममध्येको औसत कृति हो । अरुले मानुन् वा नमानुन्, म बाध्य छु लेख्न र तपाईँलाई बाध्य पारिरहेको छु पढ्न (अथवा तपाईँ पढ्न छाड्न सक्नुहुन्छ, छाड्नु भयो भने त कुरै सकियो तर तपाईँ पढ्नुहुन्छ, मेरो आशा हो) र पढिरहनु भयो भने हामी पनि ‘औसत मान्छे’ हुने प्रयत्नमा रहेछौँ र औसत मान्छे हुन सक्यो भने नै हामीलाई थाहा हुनेछ— कस्तो औसत मान्छ ? औसत मान्छ ! र, औसत मान्छे सधैं असल हुन्छ !! र त संसार बाँच्नलायक सुन्दर र रमणीय छ !!!


साभार–
सुनसरी (वार्षिक स्मारिका),२०६७, वर्ष १५ अङ्क १२