Monday, August 19, 2013

( संस्मरण ) हार्नहार्न लागेको बेला

( संस्मरण )
हार्नहार्न लागेको बेला

सरण राई

कृष्ण धरावासी 'समस्ति'को सम्पादक भएका बेला एउटा रचना दिन गएको थिएँ | वहाले उमेर सोधेर ६० नाघेको भनेपछि संस्मरण लेख्नुहोस् भनेका थिए | मजस्तो सर्वसाधारणको सस्मरंणको के अर्थ होला र ? भनेर लेख्ने मन कहिल्यै गरिनँ |

आज म अवकाशप्राप्त सह प्राध्यापक , जागिर , काम धन्धा नभएको , त्यसो भएपछी साथीभाई पनि नभएको अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुग्न लागेको मान्छे कसरि बाँचिरहेको हुँला ? प्रश्न उब्जिन्छ मनभरी |

जीवनका कैयो उतार चडाव, उकाली ओराली , आरोह अवरोहमा हतोत्साहित नभई जीवन गुजार्ने मैले आफ्नो गोप्य गन्तव्य बनाएको थिएँ | त्यही गन्तव्यका लागि बाँचियो | त्यो गन्तव्य समय र उमेर अनुसार परिवर्तन भएको छ तर मूल ध्येय 'मानव सेवा'भने अपरिवर्तनीय नै रहेको छ |

मानव सेवाको लागि कुनै समय सामाजिक सेवा , राजनीति , शिक्षा आदि माध्यमहरु अपनाइयो | सफलता असफलता दुवै भोगियो र अनुभव बटुलियो जुन अनुभव 'कपाल नभएको मानिसको लागि काइयो' जस्तै भएको छ |

अवकाशप्राप्त भएपछी साहित्य लेखनको धुन चड्यो | कम्प्युटर टाइप गराउन पसल पसल चाहर्नु पर्ने भयो | आफै सिक्ने विचार गरेँ , एकजना साथीलाई पनि भने "के को कम्प्युटर ? २० ,२१ उमेरका केटाहरुको काम !" तर मैले सिक्न छोडिनँ र आज यो अवकाशप्राप्त एक्लो जीवनमा काम लागिरहेको छ | यो कम्प्युटर, फेसबुक , ब्लग , ट्वीटर , गुगल्स , याहु आदि नभएको भए म के गरिरहेको हुन्थे होला ? ५२ पत्तीमा हुने धेरै सम्भावना थियो जसमा मेरा धेरै साथीहरु लागेका छन् |

अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुगेको म बेला बेला निरास , हतोत्साहित हुनु स्वाभाविक हो | यसरी हतास भएको बेला आफैले आफ्नो मनलाई सम्झाउँछु 'अब आफ्ना कामहरूको (फिनिसिङ् टच दिने ) बिट मार्ने ' | 'नयाँ कुरा सिक्ने जाँगर भइन्जेल मानिस बुढो हुदैन ' भनेझैँ नयाँ कुरा सिक्ने कोसिस गरिरहने | सिक्ने क्रममा यो संस्मरण सोझै फेसबुकमा लेखिरहेको छु , लेख्न सिकिरहेको छु |

हार्नहार्न लागेको बेला म आफ्नो हार स्वीकार्न चाहन्नँ र हारलाई जितमा बदल्न आफ्नो गन्तव्य , ध्येय र मेरो जीवनको मुल्य के हो आफैसँग सोध्ने गर्छु ? संस्मरण लेख्ने बिचार मनमा आउँछ , यो लेखनले मलाई केही दिन एक्लोपनबाट निश्चित रूपमा टाढ़ा राख्नेछ,हार्नहार्न लागेको बेला जितको अनुभूति दिलाउनेछ |

क्रमश :

  • Pabidhan Khaling kaiyo kapal nhunelai po kam lagdain tara jasko kapal6 uslai ta jarurt pr6 tesaile tapaiko smsmrn chadai awos suvek6ya6 hamro.




  • Krishna dharabasi daiko sujhab thik ho daju hajur tapaiko anubhab hamile ni padhnu paunu parxa.tapaiko sasmaranle ojhelma pareka harulai prakash milnexa....

  • कृष्ण सुमा 'याक्खा' राई मैले तपाईको दुखेसो सबै पढ्नपाय खुशीलागो।
    यस्तैहो नेपाली भनेको भाईमारा खालहो जो दुखमाछ तेसलाई उकाशने प्रबीदीछैन आफै खाऊ आफै लाऊभन्ने चिन्तनले हाम्रो नेपाल र नेपाली पछीपरी रयकोछ। धैरेगरनु प्रर्छ संघस गरनुप्रर्छ अबसे श्रृजनाको बाधले एकदीन माछा मरनेछ।

Sunday, April 28, 2013

चिन्ता गर्नुपर्छ


(निबन्ध)
‘साथी’ निबन्ध सङ्ग्रहबाट

चिन्ता गर्नुपर्छ

सरण राई

‘क्स्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ?मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने  मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि  नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् । कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ?
बिहे भइसकेको भए स्वास्नीबारे चिन्ता गर्नुहोस् । कस्ती रहिछ,, यसो राम्राराम्रा लक्काजवानहरूप्रति आकर्षित भएर लहसिनु पर्ने, लहसिन्न भने पक्का केही यौनजन्य खराबी छ नपुंसकताको लक्षण हो कि ? एकै पुरुषसँग तृप्त हुने आइमाईमा पक्कै केही शारीरिक खराबी छन् । लोग्नेको बारेमा पनि स्वास्नीले त्यसरी नै चिन्ता गर्न सक्छिन् । कस्तो लोग्नेमान्छे भएर पनि अरु आइमाईसँग नलागेको ? चिन्ता गर्न थाल्नुहोस् । यदि विवाह भएको छैन भने बिहे नभएकोमा केटा वा केटीहरूले तपाईँलाई नहेरेकोमा चिन्ता गर्नुहोस् । चिन्ता गर्नु भएन भने आजीवन कुमार वा कुमारी रहनु होला । चिन्ता गर्न थाल्नुहोस् ।
अझै तपाईँ चिन्तित हुनुहुन्न भने आफ्नो जीवनसुरक्षाबारे चिन्ता गर्न थाल्नुहोस् । बन्द, तोडफोड, आगजनी, हिंसाहत्याको क्रमबद्ध सिलसिलामा तपाईँ कुनै बेला कुनै स्थानमा पनि मारिन सक्नुहुन्छ । मारिनुभयो भने कुकुरको जति सम्मान प्राप्त हुनेछ । मारिनु भयो भने त सब समाप्त भइहाल्यो । दस लाख उम्कियो, नमारिएकोमा चिन्ता गर्नुहोस् । मानिस प्रत्येक दिन निरन्तर मारिएको छ । दोहारो भीडन्त, बन्द, हडतालमा गोली हानाहान भएर पहिरोले पुरिएर, बाढिले बगाएर, डाँकाले गोली हानेर दुर्घटना भएर आदिआदि कारणहरूले मानिस मरिरहेका वा मारिएका छन् । जन्मेपछि मर्नुपर्छ नै, जसरी भएपनि आखिर मर्ने चोला नै हो, मर्ने र मारिनेहरूका लागि केको चिन्ता ? जब मुलुकको सरकार यी यस्ता अस्वाभाविक मृत्युहरूबारे चिन्तित छैन—  तपाईँ हामीले चिन्ता गर्नुपर्ने कुनै तुक छैन । बरु यस्तो अराजक वातावरणमा  पनि बाँचिरहेकोमा चिन्ता गर्न थालौँ ।
अन्न उब्जनी भएन, चिन्ता नगरौँ । विदेशबाट सडेको अन्न आउनेछ । कारखाना, उद्योग, बन्दव्यापार बन्द छ। बन्द भएर के भयो ? चाउरी नै चाउरी परेको चेहरा भएको प्रधानमन्त्री, मन्त्रीहरूका चेहरामा अटाइनअटाइ मासु लागेर पाक्कपुक्क, रातोपिरो, खाइलाग्दो चेहरा भएका छन् । उनीहरूको चेहरामा देखा परेको सन्तोषको रेखाले उनीहरूको हात राष्ट्रको ढुकुटीमा पुगेको प्रष्ट हुन्छ । आर्थिक, राजनैतिक सुरक्षा सरकारमा पुगेकाहरूले प्राप्त गरेकै छन् । मधेस जलोस् वा पहाड, मुलुक नै जलेर स्वाहा भएपनि तथाकथित राजनेताहरूलाई चिन्ता लाग्दैन । उनीहरूको भागमा नपरेको चिन्ता सर्वसाधारणको भागमा परेको छ । तपाईँ त मन्त्री हुनुभएको छैन, मन्त्रीजस्तो निस्फिक्री बस्न सर्वसाधारणलाई सुहाउँदैन, तसर्थ खब चिन्ता गर्नुहोस् ।
अझै चिन्ताका विषयहरू प्रशस्त पाइएनन् भन्ने लाग्छ भने आफ्ना जन्मेका  वा नजन्मेका छोराछोरीहरूबारे  चिन्ता गर्नुहोस् । किन जन्मिएनन् छोराछोरीहरू ? एक चिन्ता । जन्मिसकेपछि दस चिन्ता । छोराछोरीहरू राम्ररी पढिरहेछन् । चारैतिर सहज ढङ्गले प्राप्त दुव्र्यसनका वस्तुहरू हुँदा पनि दुव्र्यसनमा छोराछोरीहरू नलाग्नु चिन्ताको विषय होइन र ? छोराछोरीहरूले बेवारिसे बम खेलाउन नपाउनु अर्को चिन्ताको विषय । स्कूलै रित्तो हुनेगरी जनसेनामा भर्ति हुन नपाउनु, स्कुलै बन्द गरेर सेनाको ब्यारेक स्कुलमा नबस्नु, शान्ति बहाली होला कि भन्ने डर भइरहनुजस्ता कुराहरू चिन्ताको प्रचुर विषय भएनन् ? संबिधान कस्तो बन्ला ? संबिधानसभाको चुनाव हुने हो कि ? जनता सार्वभौम बन्ने हुन् कि ? राजनीतिमा सर्वसाधारणको संलग्नता हुने हो कि ? अनिश्चित जोखिमले भरिपूर्ण जिन्दगीको के भरोसा ? थालेको कामहरू पूरा हुने हो–होइन । हिँड्दाहिँड्दै एम्बुसमा परेर मारिनेहरू नहुने हुन् कि ? आफ्नो भाइ, भतिजा, छोरीज्वाईँलाई टिकट दिन नपाइने हो कि ? लोकतन्त्र त प्रतिगामी पुनरुत्थानवादीहरूलाई चाहिएको छ, आन्दोलनकारीहरूले पनि लोकतन्त्रको उपभोग गर्ने हुन् कि ! लोकतन्त्रमा फर्जि मत दिन नपाइने हो कि ? छिमेकि देश भारतमा जस्तै पैसा, गुन्डा र धनी मानीहरूको लोकतन्त्र ल्याउन नपाइने हो कि ? शस्त्रधारीहरूले दिउँसै सर्वसाधारणको हत्या, अपहरण, लुटपाट गर्न नसक्ने वातावरण पो बन्ने हो कि ? मानवअधिकार बहाल हुने हो कि ? आदी अनेकौ चिन्ताको विषय होलान् । तर सर्वसाधारणको चिन्ताको विषय चाहीँ पुराना बगम्फुसे पाखण्डी नेताहरू जो समाजलाई बदल्न चाहदैनन्, तिनीहरूको अन्त भएको दिन देख्न पाइने हो  कि होइन भन्ने हो ।
अब त तपाईँ पनि खुब चिन्ता गर्न थाल्नुहोस् । चिन्ताले तपाईँलाई सब प्रकारको सांसारिक दुःख, झमेला, शोकसुर्ताबाट मुक्त गर्दछ । ‘चिन्ताले चितासम्म पु¥याउछ’ उखान मुताविक खुब चिन्ता गर्नुहोस् । राम्रा कामहरूका लागि होइन, असम्भव काल्पनिक दुःखका बारेमा खुब चिन्ता गर्नुहोस् । आकाश खस्न अाँट्यो, खुत्रुक्कै भइने हो कि ? दुर्घटनाको सिकार भइने हो कि ? आफूले विश्वास गरेक आफ्नाहरूले नै विश्वासघात गरेर दस बल्ड्याङ खुवाउने हुन् कि ? कसैलाई विश्वास नगर्नुहोस् । विश्वास गर्न  सकिने इमानदार मान्छे आजभोलि कहाँ पाउन सकिन्छ र ? धोका, विश्वासघात हुने सम्भावना छ  तसर्थ यस सम्बन्धमा पनि खुब चिन्ता गर्नुहोस् । साथै सतर्क रहनुहोस् । अरुले धोका दिनुभन्दा अगाडि नै चिन्तित भइरहनुहोस् । चिन्ता गर्नुहोस् र चितासम्म पुगेपछि सब दुःख निवारण हुनेछ । तसर्थ चिन्ता गर्नुहोस्, खुब चिन्ता गर्नुहोस् ।


गरिमा ,२०६४, भदौ , पूर्णङ्क २९७ मा पहिलो पल्ट प्रकाशित



साहित्य , संस्कृति र नविन सम्बोधन

साहित्य , संस्कृति र नविन सम्बोधन


नेपालमा विभिन्न राजनैतिक व्यवस्था फेरिदा पनि साहित्य,सस्कृति र सम्बोधनका तरिकाहरु फेरिएका छैनन्  | आजसम्म लेखिएका साहित्य ,संस्कृति  र सम्बोधनका तरिकाहरु अधिकांश रूपमा सामन्ती व्यवस्थाको उपज नै रहिआएका छन् |सामन्ती व्यवस्था, संस्कार र परिपाटीलाई टेवा पुर्याउने साहित्य , संस्कृति र सम्बोधनका तरिकाहरु नै अहिलेसम्म  जारी छन् |मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा साहित्य, संस्कृति र सम्बोधनका तरिकाहरु पनि युगसापेक्ष नविन हुनु पर्ने हो |पुराना साहित्य , कला, संस्कृति , रीतिथीति , चलन, प्रचलन , मुख्यतया जीवन पध्दति , सोच र क्रियाकलापहरु जस्ताको तस्तै  रूपमा रहन सक्दैनन |तिनीहरुको स्थान नयाँले लिनेछन् तर त्यो नयाँ पुरानाहरुभन्दा उत्कृष्ट हुन् जरुरी  हुन्छ |पुरानाका पनि राम्राहरु अङ्गीकार गर्ने र नयाँको नाममा अन्धाधुन्ध पाश्चात्य साहित्य,संस्कृति र रहनसहनको नक्कल गर्नु पनि उपयुक्त हुँदैन |
आजसम्म लेखिएका नेपाlली  साहित्यको गहन अध्ययन गरी पुनर मुल्याङ्कण गर्नु पर्ने भएको छ | आजसम्मको साहित्यले कसको सेवा गरीरहेको थियो र कस्तो संदेश प्रचारित गरिरहेको छ भन्ने बुझ्न जरुरी छ |अब लेखिने साहित्य पनि तिनै साहित्यको जगमा नै लेखिने हुँदा पुराना साहित्यको
मुल्याङ्कण गर्नु पर्ने आवश्यकता हुन् गएको हो | असल साहित्यको सरक्षण र मुलुकलाई प्रतिगमन तिर लैजाने साहित्यको आलोचना गर्दै त्यस्तो साहित्यको बहिस्कार गर्नु जरुरी भैसकेको छ |अब लेखिने साहित्य भावी पुस्तालाई अग्रगमनतिर लैजाने र नेपाली  साहित्यलाई पनि विश्वसाहित्यको स्तरमा पुर्याउने किसिमको हुनपर्छ |
आज सम्मका सास्कृतिक क्षेत्रका र सस्कृतिको पुनर्मुल्याङ्कण हुने नै छ | खिया लागिसकेको , मक्किएको मानसिकता बोकेर आधुनिक हुन् सकिदैन |आधुनिकताको नाममा जुन उपभोक्तावादी संस्कृति भित्रिदै छ , त्येसको पनि उपयुक्त चर्चा गरी एउटा निश्चित निष्कर्स निकाल्न आवश्यक छ |
भूमण्डलीकरण र विश्व ब्यापार संगठनको सदस्य बनिसकेको नेपाल संस्कृतिको दोहोरो चेपुवामा परिरहेको छ , अझ चर्को दवावमा पर्ने निश्चित छ |कस्तो संस्कार , रीतिथिती अथवा जीवन पध्दति अपनाउदा उपयुक्त होला , सोच्ने बेला आईसकेको छ | नेपाल पनि विश्वबाट अलग्गिएर एक्लै  बेग्लै बस्न सक्दैन , त्यसो भन्दैमा आफ्नो चिनारी नभएको नेपाल हाम्रो चाहना हुन सक्दैन |
सम्बोधनको तरिका भन्नाले अनेकौ अर्थ लाग्न सक्छन |ती सबै अर्थलाई नसमेटेर खालि बोलाउदा प्रयोग हुने विशेषण अथवा बोल्ने ,बोलाउने वा बुझाउने प्रक्रियाको  मात्र यहाँ सन्क्षिपत चर्चा गरिने छ | विश्वका हरेक देशमा मानिसको परिचय गराउने फारामहरु भर्दा पहिलो नाम र अन्तिम नाम भराइन्छ तर नेपालमा भने नाम मात्र भराइन्छ| यसपालिको जनगणनामा नाम पछी जात पनि भराइको देखियो | कुन कुन जात कति छन् भन्ने जान्न जरुरि भएकैले त्यो भरिएको होला |जातीय आधारमा संघीय राज्यको कुरा उठिरहेको बेला जनसंख्या पनि एउटा आधार हुन् सक्ला | यो लेखमा यी विविध राजनैतिक कुराहरु बारे बहस उठान गर्नु नभएर अहिले सम्म हाम्रा अखबारहरु,साहित्य , रेडियो र बोलचालमा जातको आधारमा सम्बोधन गर्ने परिपाटीको मात्र चर्चा उठाईएको हो |उदाहरणको लागि रेडियो सुन्दा पहिलो पल्ट राष्ट्रपति डा. राम वरण यादव भनिन्छ | त्यसपछी राष्ट्रपति यादव |साहित्य क्षेत्रमा  पहिलो पल्ट डा. ध्रुवचन्द्र गौतम त्यसपछी गौतम | पत्र पत्रिकामा पनि पहिलोपल्ट प्रधानमंत्री झलनाथ खनाल  अनि पछी प्रधानमन्त्री खनाल भनेर सम्बोधन गरिन्छ |
महेन्द्र क्याम्पसका स्नात्तकोतरमा  अध्यायनरत बिध्दार्थिहरुले मेरो पनि तीनवटा शोधपत्र तयार गरि सकेका छन् | पहिलो पल्ट साहित्यकार सरण राई लेखेका छन् | त्यसपछी राई, राई लेखेका छन् | साहित्यकार राईको लेखनी हेर्दा , कवि राईको कविता पढदा ....|ती बीध्दार्थीहरुको शोधपत्र हेर्दा म राई नभई सरण मात्र अथवा साहित्यकार , कवि मात्र रहन सकिनॅ | साहित्यकार हुँदा पनि साहित्यकार राई , कवि हुँदा पनि कवि  राई | ती शोधपत्रहरु पढुन्जेल मैले स्स्फुलाई एउटा साहित्यकार सरण राई , साहित्यकार सरण पाइनॅ , म राई, राई नै भैरहें | मेरो निजी व्यक्तित्वराई मात्र रही रह्यो , म साहित्यकार सरण हुन्  सकिनॅ |त्यहाको लेखाईले त्यस्तो मेरो व्यक्तित्वको बिकास हुने दिएन |अरु पढ्नेहरुले पनि मलाई पहिले सरण राई देखें पनि पछाडी राई मात्र देख्न थाल्नेछन् | राई नसम्झी  एउटा साहित्यकारको रुपमा मलाई एकै क्षण पनि मूल्यांकन गर्न उनीहरु सक्षम हुन् सक्तैनन |पलपल हरफहरफमा राई, राई भनेर पढ्नेहरुलाई तेस शोधपत्रले सम्झाई दिन्छ |यो ती बीध्यार्थीहरुको दोष होइन | हाम्रो अहिलेसम्म चलिआएको स्थापित लेखनपध्दति वा सम्बोधन पध्दतीको  को दोष हो |
राष्ट्रपति रामवरण यादवलाई रेडियोले , अखबारहरुले र सम्बोधन्रहरुले मलाई जस्तै एकै क्षण पनि यादव नभई नेपालीको खुट्टामा रामवरणको दिमागमा उभिन सोच्न दिदैनन् |उनी बिर्सन चाहेर पनि यादव नै रहन्छन् |जति गरे पनि राष्ट्रपति रामवरण हुदैनन् | राष्ट्रपति यादव हुन्छ, यादव, यादव यादव | उनलाई यादवकै दिमागले सोच्न विवश पारिन्छ |यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई , मन्त्रीहरुलाई प्रशासनका अरुहरु सबैलाई यी सम्बोधन्हारुले आफु कुन जातको हो , बारम्बार सम्झाई रहन्छन् | अरुहरुलाई पनि त्यो फलानो फलानो जातको भनेर सम्झाई रहन्छ |अब रेडियो , खबर कागज , पत्र पत्रीका र साहित्यहरुमा सम्बोधन गर्दा पनि राष्ट्रपति ड़ा. रामवरण यादव भन्ने र त्यसपछी राष्ट्रपति ड़ा. रामवरण मात्र  भन्दा राष्ट्रपति ड़ा. रामवरण यादवले आफुलाई आफ्नो छुट्टै  रामवरणको व्यक्तित्वमा अनुभव गर्न पाउछन् कि !यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई पहिलो एकचोटी  प्रधानमन्त्री झलनाथ खनाल भन्ने त्यसपछी  प्रधानमन्त्री झलनाथ ,मन्त्रीहरु भए    उनीहरुको पहिलो नामबाट अथवा सबैलाई पहिलो नामबाट सम्भोधन गर्दा उपयुक्त होला कि ! छलफल गरेर निष्कर्समा पुग्न जरुरी भएको छ |
अहिलेको समयमा थुप्रै नेपाली इन्टरनेट चलाउने भैसकेका छन् |इमेल खोल्दा पनि पहिलो र अन्तिम नाम लेख्नु पर्छ  | फेसबुकमा अथवा नेटमा जहा पनि पहिलो र अन्तिम नाम भर्नु पर्छ | इमेलमा याहु, जिमेल, हटमेल ,फेसबुक कुनैले पनि मलाई हाइ राई भनेर सम्बोधन गर्दैनन्  अथवा अन्तिम नाम जातको आधारमा सम्बोधन गर्दैनन् |हाय सरण, हाय सरणकुमार ... भन्छन् | जर्मनीमा त जातको आधारमा सम्बोधन गर्न नपाइने कानुन कानुनी छ रे भन्ने जर्मनबाट फर्केका ड़ा . कालुराम खम्बुले मलाई सुनाएका थिए | त्यससम्बन्धी मलाई पूरा जानकारी नभर पनि सुन्दर , समुन्नत , सम्पन्न  र शान्त नेपालको निम्ति राष्ट्रिय एकताको शुत्रमा बाँधीएका सम्पूर्ण नेपालि हुन् जरुरि छ |प्रत्येक क्षण प्रत्येक पल आफ्नो जात सम्झाइरहने सम्बोधनले हामीलाई जात बिर्सेर नेपालि हुन् कति मद्दत गर्ला ? तसर्थ हाम्रो आफ्नो निजी व्याक्तित्वको विकासका लागि पनि र सम्पूर्ण नेपालीको राष्ट्रिय एकताको मजबुतीका लागि भए पनि जातको आधारमा  सम्बोधन गर्ने पध्दति , तरिका आजकै मितीदेखी रेडियो, खबर कागज , साहित्य र बोलीचालीमा छाड़ौ |उदाहरणका लागि - राष्ट्रपति रामबरण , प्र्शान्मंत्री झलनाथ , साहित्यकार ध्रुवचन्द्र ,साहित्यकार सरण, पत्रकार राजकुमार भनेर लेख्न ए बोल्न थालौं | यसलाई अभियानकै रुपमा अगाडी लैजाऔ | आगे तपाईहरुको मर्जी |

साभार —ब्लास्ट टाइम्स ,२०६८ भदौ ७ गते शुक्रबार

औसत मान्छे

निबन्ध

औसत मान्छे

सरण राई

मान्छे मान्छेहरूको असंख्य भीडमा मान्छे आफ्नो औकात र अस्तित्व खोज्न तल्लीन देखिन्छ । म के हुँ ? मैले के प्राप्त गरेँ जीवन यात्रामा ? मैले विविध फाँटमा गरेको समय, उमेर र प्रयत्नको लगानी उत्पादक भयो कि अनुत्पादक ? मानिसहरूको आँखामा मेरो स्तर, महत्व र औचित्य कस्तो छ ? आदि अनेकन प्रश्नहरूको उत्तर खोज्दा अधिकांश मान्छेहरूले  जस्तै मैले पनि आफूलाई औसत मान्छेभन्दा तलकै अवस्थामा पाउँदा दुःख मान्ने कि सन्तोष ? छुट्याउन नसकिने अवस्थामै म घोत्लिन थाल्छु— औसत मान्छे भनेको के ? कस्तो हुन्छ ?

औसत मान्छे आम मान्छे, सर्वसाधारण वा सामान्य मान्छेहरूकै प्रतिनिधित्व गर्ने मान्छे होला । अङ्क गणितीय आधारमा औसत मान्छे निकाल्दा सबैभन्दा धनी र सबैभन्दा गरिब, सबैभन्दा बुद्धिमान र सबैभन्दा बढी मुर्ख, सबैभन्दा सुन्दर र सबैभन्दा कुरूप अथवा  सबैभन्दा सुखी  र सबैभन्दा दुःखी  आदिको औसत नै औसत मान्छे हुनुपर्ने हो तर यसो गर्दा पनि ‘औसत मान्छे’ परिभाषित गर्न अफ्ठ्यारो नै महसुस हुन्छ । आयु, उचाई र शारीरिक बनोटका सम्बन्धमा चाहिँ औसत निकाल्न सजिलो देखिएको छ तर अन्य विषय वा कुराहरूका आधारमा चाहिँ औसत मान्छे कसरी चिन्ने ?जटिल नै देखिन्छ । विश्वका वा कुनै देशका मान्छेहरूका औसत उचाई र आयु निकालिए जस्तै  औसत मान्छेको स्वभाव, आचार, विचार, व्यवहार, अवस्था वा स्थितिहरू पत्ता लगाउन खोजियो भने त्यो त्रुटिपूर्ण हुन जान्छ । औसत बुद्धिकै प्रयोग गरेर औसत मान्छे चिन्ने प्रयत्न गर्नु उपयुक्त होला कि !
अब फेरि प्रश्न उठ्छ औसत बुद्धि भनेको के नि ? अहिलेलाई यति नै भनौँ यो निबन्ध लेख्ने मेरो र यो निबन्ध पढ्ने तपाईँको बुद्धि नै औसत मानौँ । हुन्न ?
औसत मान्छेलाई देख्दा खेरी नै चिन्ने सजिलो तरीका छ । लवाई–खुवाई, बोलाई, चलाई, हँसाई, हिँडाई, कुदाई, बसाई–उठाई, पढाई–लेखाई जस्ता कुराहरूबाट सजिलै औसत मान्छेलाई चिन्न सकिन्छ । जो औसत वा  औसतभन्दा तलका कुराहरूमा भुलिएको देखिन्छ, त्यो नै औसत मान्छे होला । औसत मान्छेकै लागि सम्पूर्ण आविष्कारहरू गरिएका हुन्छन् । अझ राजनीति र साहित्य त औसत मान्छेकै लागि गरिएको र लेखिएको हुन्छ । राजनीतिमा लागेको अथवा राजनीतिको नसामा डुबेको मान्छे राजनीतिको सबै घटनाहरूलाई अत्यन्त रुचीका साथ हेरिरहेको हुन्छ, आफ्नै प्रकारले व्याख्या गरिरहेको हुन्छ, आफ्नो अनुकूल–प्रतिकूल हिसाब लगाई रहेको हुन्छ  र गमक्क पर्छ आपूmले मन पराएको आफ्नो दलको मान्छे मन्त्री हुँदा (सोच्न पुग्छ ऊ आपैm मन्त्री भएको छ), मक्ख पर्छ आफ्नो अघोषित प्रतिद्वन्द्वी छिमेकिलाई नीचा देखाउन पाउनेछ भनेर । तर दलभित्र अथवा राजनीतिमा उसको स्थान औसत नै हुन्छ । उसको आफ्नो दलको मन्त्रीले उसलाई चिन्न पनि मान्दैन । आफ्नो दलको सरकारले गर्ने विभिन्न पदहरूको राजनैतिक नियुक्ति मनोनयनमा औसत मान्छेको नाम पर्न सक्तैन र औसत मान्छेले कुनै प्रकारको फायदा, उपलब्धी वा मान सम्मान केही पाउँदैन  तर उसलाई थाहा हुँदैन— ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ।’

राजनीतिमा औसत मान्छेको स्थान ताली पिट्ने मात्र हुन्छ । उफ्री उफ्री जुलुसमा नारा लगाउने हुन्छ । कहिल्यै नेता बन्न नपाउने कार्यकर्ता (सहानुभूति देखाउनका लागि कार्यकर्ता भनिएको हो) हुन्छ । ‘मेरो पार्टी’ भनेर नाक घोक्र्याउने, मेरो पार्टीको सरकार भनेर फूर्ति लगाउने तर पार्टी र सरकारको रस, तर वा फल चाख्न नपाउने निम्न स्तरिय निरस, निरीह र उल्लु औसत कार्यकर्ता ! ढुङ्गा हान्नु प¥यो, रेलिङ्ग भाच्नु प¥यो वा पार्टीका लागि लज्जास्पद कामहरू गर्नु प¥यो भने चाहिन्छ औसत कार्यकर्ता । औसत मान्छे राजनीतिमा पनि औसत कार्यकर्ता नै भएर कहिले माथि पुग्न नसक्नेहरूमध्येकै औसत हुन्छ । औसत रूपमा ऊ लेभी तिरिरहेको हुन्छ, चन्दा वा शुल्क दिइरहेको हुन्छ  र औसत राजनीतिज्ञ भइरहेको भ्रम पालिरहन्छ ।
आफूलाई औसत राजनीतिज्ञ ठान्नेहरू जसको राजनीतिमा कुनै प्रभाव हुँदैन, स्थान हुँदैन तर सामान्य र सर्वसाधारण र निम्न तहका जनसमुदायका नजरमा आपूmलाई राजनीतिक जानकारी राख्ने औसत रानीतिज्ञ देखिन आफ्नो समग्र जीवन बिताउन तयार देखिन्छ ।
औसत मान्छेका लागि लेखिएका औसत साहित्यिक कृतिहरूले टम्म भरिएको छ, साहित्य भण्डार । साहित्यमा औसत प्रेम, औसत शोषण–उत्पीडन, औसत यौन, औसत जीवनका अनुभूति आदिबारे वर्णन गरिएको साहित्यले औसत मान्छेलाई यति धेरै आनन्दातिरेक बनाएको छ कि त्यो साहित्य नहुनु हो भने औसत मान्छेहरू अत्यन्त दुःखी हुने थिए । साहित्यमा औसत साहित्यिक पाठकहरू यति महत्वपूर्ण छन् कि उनीहरूकै लागि साहित्यिक रचना गरिन्छ, साहित्यिक उछिन्पाछिन्, प्रतियोगिता वा सृष्टि गरिन्छ । ती सृष्टिमध्येको यो अहिले तपाईँले पढिरहनु भएको औसतभन्दा तलको निबन्ध पनि अहिले तत्कालका लागि महत्वपूर्ण सृष्टि हो (किनभने तपाईँ यो पढिरहनु भएको छ), उत्तममध्येको औसत कृति हो । अरुले मानुन् वा नमानुन्, म बाध्य छु लेख्न र तपाईँलाई बाध्य पारिरहेको छु पढ्न (अथवा तपाईँ पढ्न छाड्न सक्नुहुन्छ, छाड्नु भयो भने त कुरै सकियो तर तपाईँ पढ्नुहुन्छ, मेरो आशा हो) र पढिरहनु भयो भने हामी पनि ‘औसत मान्छे’ हुने प्रयत्नमा रहेछौँ र औसत मान्छे हुन सक्यो भने नै हामीलाई थाहा हुनेछ— कस्तो औसत मान्छ ? औसत मान्छ ! र, औसत मान्छे सधैं असल हुन्छ !! र त संसार बाँच्नलायक सुन्दर र रमणीय छ !!!


साभार–
सुनसरी (वार्षिक स्मारिका),२०६७, वर्ष १५ अङ्क १२

साथी


(निबन्ध)
‘साथी’ निबन्ध सङ्ग्रहबाट

साथी

सरण राई

साथी नहुने मान्छे संसारमा कोही हुँदैन । साथी जसको छैन, ऊ एक्लो हुन्छ, दुःखी हुन्छ । मान्छेले साथीहरूको माझमा दुःख पनि बिर्सिन्छ । विभिन्न स्थिति, परिस्थिति, समय र कार्यको दौरानमा साथीहरू बन्छन् । साथीहरू कोही अस्थायी हुन्छन् भने कोही स्थायी । साथीहरू जीवन यात्रामा बन्छन्, छुट्छन् । साथीहरू नभएको संसार बिरलै र रुखो हुन्छ । साथीसँग दुःख बाँढ्दा आधा हुन्छ भने आनन्द दोब्बर हुन्छ । साथी अमूल्य र महत्वपूर्ण हुन्छ । तर साथी शत्रु बन्यो भने त्योभन्दा डरलाग्दो कोही हुँदैन । साथी भित्रभित्रै जरो काट्ने भयो भने त नेपोलियनले जस्तै भन्नुपर्ने हुन्छ— ‘भगवान, मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूसँग म आफै बच्न सक्छु ।’
    ‘साथीहरू कस्ता छन् ?’ त्यसै कुरामा मान्छेको सफलता निर्भर रहन्छ । मानिस जन्मजात स्वार्थी हुन्छ तर मान्छे दयालु पनि हुन्छ । थाहै नपाई जोर लात्ती हान्ने साथीहरू पनि हुन्छन् साथै साथीको लागि ज्यान दिने साथीहरू पनि हुन्छन् । साथीहरू थरीथरीका हुनसक्छन् ।
    साथी कार्यक्षेत्र, उमेर र ध्येयअनुसारको हुन्छ । राजनीतिक, सामाजिक, आर्थिक वा अन्य क्षेत्रका साथीहरूको विशेषता पनि बेग्लाबेग्लै हुन्छ । जीवनमा धेरै साथीहरू चाहिन्छ । राजनैतिक क्षेत्रमा  धेरै साथीहरू हुनेले राजनैतिक खेल जित्ने सम्भावना हुन्छ । जसले जति धेरै राजनैतिक साथीहरू बनाउन सक्यो त्यति वेश । राजनैतिक साथीहरू राजनैतिक मूल्य, मान्यता, सिद्धान्त र आस्थाको आधारमा बन्छन् भनिए तापनि राजनीति  माकुरे संस्कृितमा हुर्केको हुन्छ । राजनीतिमा धेरै विश्वासघाती साथी पाइन्छ । आफैले जन्माएको बच्चाहरूले नै माउलाई खाइ मार्ने गँगटो र माकुराको चलनलाई ‘माकुरे संस्कृति’ भनिएको हो । राजनैतिक साथीहरू आफैले जन्माउने, बढाउने र हुर्काउने अनि मौका पाउनासाथ माकुरे संस्कृतिको शिकार तिनै साथीहरूले बनाउन सक्ने भएकाले सधैं सतर्क भइरहनुपर्ने हुन्छ । ‘पालेको चरीले आँखा ठुङ्छ’ भनेझैँ राजनीतिमा त विश्वास गरेको साथीले आँखा मात्र होइन ज्यानै समेत लिएका उदाहरणहरू प्रसस्तै पाइन्छन् । साथीको कुर्सी खोस्नु, भाँच्नु त सामान्य जस्तो देखिन्छ । राजनीतिमा धेरै स्वार्थी साथी पाइन्छन् । । सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रमा पनि स्वार्थको चास्नीमा डुबेकाहरू गुलियोको लागि साथीभै टोपल्नेहरू थुप्रै पाइन्छन् । तापनि राजनीतिमा जति धेरै फोहोरी साथीहरू पाइन्छ, अन्य क्षेत्रमा कम मात्रामा पाइन्छन् ।
    साहित्यिक क्षेत्रमा साथीलाई चिया, कफी वा रक्सीमा भुल्याएर मात्र कविता सुनाउन सकिन्छ । झुक्काएर कविता सुनाईहालियो भने पनि साथीको चेहरा अमिलो खाँदा चाउरिएझैँ प्रष्ट देख्न सकिन्छ । साहित्यिक क्षेत्रमा त्यति धेरै साथी पनि चाहिदैन तर आर्थिक क्षेत्रमा चाहीँ किसिम किसिमका साथीहरू चाहिन्छन् । लाटो, लठेब्रो, गठेरो, कोक्ल्याटो, गरिब, हरिप, धनी, मानी, लुते, लङ्गडो, अन्धो, बलवान, पहलमानदेखि लिएर पाखण्डी, लबस्तरा, इमानी, जमानी सबै किसिमका साथीहरू व्यापार–व्यवसायमा काम लाग्छन् । व्यापारमा साथी लेनदेनकै साथी हुन्छ र त्यस्तै भेटिन्छ । चोट्टा र भुइँफुट्टा साथीहरूबाट धोका पाइन्छ कि भन्ने डर व्यापारिक क्षेत्रमा सधैं भइरहन्छ । उमेर अनुसारको साथीको कुरा गर्दा सानाको ‘बाल शखा’ बिर्सिन नसकिने हुन्छ । बाल शखाको मनभित्र माया, प्रेम लुकेर बसेको हुन्छ । बिद्यार्थीछँदाका साथीहरू पनि उत्तम हुन्छन् । ती साथीहरू निश्चित प्रयोजनका लागि बनाइएका हुँदैनन् ।
व्यवसाय, व्यवहारमा फसिसकेपछि  बन्ने साथीहरू धेरैजसो निश्चित प्रयोजन र ध्येय पूरा गर्नका लागि बनिएका हुन्छन् । त्यो प्रयोजन,ध्येय समाप्त भएपछि ती साथीहरूको उपादेयता पनि समाप्त हुन्छ । पाको उमेरमा पक्का साथी पाउनु  त बालुवामा सुनका कणहरू पाउनु जत्तिकै दुर्लभ हुन्छ । उमेरअनुसार विविध रूपका साथीहरू पाइन्छन्  । जन्मदेखि मृत्युसम्म साथीहरू चाहिन्छन्, पाइन्छन् । कुन खालको र कति जना साथी पाइन्छन् भन्ने चाहीँ आफ्नो भाग्यमाथि निर्भर हुन्छ । ‘भाग्यमानीको भुत कमारा’ भनेझैँ भाग्यमानीका धेरै असल साथीहरू हुन्छन् ।
‘सङ्गत गुनाको फल’, ‘ठूलाको सङ्गत गरे गुवा पान, छोटाको सङ्गत गरे नाक कान’, ‘गाँस छोड्नु, साथ नछाड्नु’, ‘आफ्नो थैली  बलियो बाँध्नु, साथीलाई चोर नलगाउनु’ आदि अनेकौँ उखानहरूले साथीहरूबारे विविध धारणाहरू व्यक्त गर्दछ । ‘आफू भलो त  जगतै भलो’ भनेझैँ आफूजस्तो छ त्यस्तै  साथीहरू पाइन्छन् । आफू असल भएमा असल साथी पाइन्छ । साथीहरूको डङ्गुरमा  असल साथी छान्न सक्नु महत्वपूर्ण कला हो । धोका पाएर साथीलाई दोष दिनुभन्दा असल साथी छान्न नसकेकोमा आफैलाई दोष दिनु  बेस हुन्छ । साथीहरू सबै एकै खालका हुँदैनन् । सुखमा मात्र साथ दिने शुभलाभ मित्र (फेयर वेडर फ्रेण्ड्स) धेरै हुन्छन् । तापनि साथीलाई सङ्कुचित परिभाषामा बाँध्नु हुँदैन । आपद्, विपद् सुखदुःख जुनसुकै समयमा पनि साथ दिने साथी हो । त्यस्तो साथी पाउनु भनेको असली हीरा पाउनु सरह हो ।
आफूले भनेजस्तो भएन भने साथी त्यागी हाल्नु पर्छ भन्ने सोच्नु हुँदैन । ‘दोषरहित मित्र’को खोजीमा रहँदा मित्रविहीन एक्लो भइने अवस्था बन्न सक्छ । संसारमा सबै असली हुँँदैनन् । असली हीरा थोरै छ, सबैलाई असली हीरा उपलब्ध हुँदैन । नक्कली हीराहरूले  पनि उपभोक्ताहरूलाई सन्तुष्टि दिएकै छ । नक्कली साथीहरूले पनि असली साथीको प्यास मेटाउन सक्छन् । साथीहरू जस्तोसुकै होऊन्   बुद्धि र जुक्तिले उपयोग गर्ने हो भने मित्रताबाट नोक्सान हुन सक्दैन । सबै खाले साथी काम लाग्छ । आफ्नो अघिपछि वरिपरि चारैतिर सबै खाले साथीहरू बटुलेर बाँच्न जान्ने मान्छे सफल हुन्छ । साथीहरूको माझमा मान्छे सुखी हुन्छ । साथीलाई घृणा नगर्ने र साथीहरूबाट घृणित नहुने मान्छे जसले साथीहरूबाट निरन्तर मित्रता पाइरहन्छ त्यो मान्छे सफल र सुखी हुन्छ । साथीको आँखाबाट जुन व्यक्ति गि¥यो, त्यो विचरा हो । मित्रतामा मित्रता बाहेक अन्य दुषित विषाक्त भाव र व्यवहार आउन दिनु हुँदैन । ‘अर्ति सबैको मान्नु’ भनेझैँ जसले यो उपदेश मान्दछ, ऊ मित्रविहीन भएर एक्लो रहनुपर्दैन ।
    ‘साथी’बारे स्पष्ट निक्र्यौल निकाल्न सकिँदैन ।  जीवन, जगत र व्यवहारमा  गणितमा जस्तो कुनै सवालको ट्वाक्कै उत्तर आउन सक्दैन । दहमा नपसी, नडुबी, नभिजी पौडी सिक्न नसकेझैँ आफैले मित्रताबारे अनुभव गर्ने, थाहा पाउने र उपादेयताबारे मनन गर्नेभन्दा अर्को तरिकाबाट ‘साथी’बारे स्पष्ट  पार्न सकिदैन । तापनि यति चाहीँ भन्न सकिन्छ  जसको जीवनमा  साथीहरू प्रचुर मात्रामा उपलब्ध छैनन्, उसको जीवन उजाड, निरस, शुष्क, खडेरी जस्तो निर्मम हुनछ । तसर्थ जीवनमा थुप्रै साथीहरू बनाउनुहोस् । आफू चाहीँ पक्का साथी बनेर मित्रताको कसीमा खरो उत्रनुहोस् । मित्रताको नाममा कोही कलङ्क बन्छ भने त्यो उसैको दोष हुन्छ ।

‘समष्टि’ २०६२, मंसिर–पुस (वर्ष २६, अङ्क ३)मा पहिलोपल्ट प्रकाशित

सामाजिक सेवा

निबन्ध
(‘साथी’ निबन्ध सङ्ग्रहबाट)

सामाजिक सेवा

सरण राई

कोही पनि आज एक्लै गुफा वा जङ्गलमा जीवित रहन सक्तैन । मानवीय आवश्यकताको पूर्ति समाजमा बसेर मात्र संभव छ । आफ्नो समाजलाई सुसंस्कृत, सभ्य र विकसित तुल्याउन योगदान गर्नु व्यक्तिको दायित्व हुन जान्छ । समाजको संरचनामा सबै समान , सक्षम र समान योग्य हुँदैनन् । सबलले दुर्बलप्रति, बढी सक्षमले कम सक्षमप्रति, स्वास्थ्यले रोगीप्रति, ज्ञानीले अज्ञानीप्रति भनौं एक अर्काप्रति पालन गर्नु पर्ने केही कर्तव्यहरू हुन्छन् । ती कर्तव्यहरू निस्वार्थ भई पालन गर्नु नै सामाजिक सेवा हो ।
आर्थिक भारले थिचिएर आज मानिसको आत्मा उकुसमुकुसिएको छ । जीवन धान्न कठीन भइरहेको छ । विलासिताको मोहले मानिसलाई आम्दानी बढाउन बाध्य बनाइरहेछ । आम्दानी बढाएर भौतिक सुख सुबिधाको उपभोगबाट आत्म–सन्तुष्टि प्राप्त गर्ने भ्रममा मानिस अल्झिरहेछ । आफ्नै व्यक्तिगत स्वार्थलाई सर्वोच्च ठान्ने भूल गरिरहेछ । आफ्नै सुर, आफ्नै धुन, आफ्नै स्वार्थमा रुमल्लिरहेको मानिसले अरुको समस्या बुझ्न, सहानुभूति प्रकट गर्न र सहयोग गर्न सक्छ भनी आशा गर्नु निरर्थक शुन्छ । यस्तो अवस्थामा सामाजिक संस्थाहरूको औचित्य र महत्व झन् बढेर जान्छ । व्यक्तिमा लोप हुन लागेको समाजसेवाको भावना जगाउन, गरिनु पर्ने सहिष्णुता, प्रेम र भ्रातृत्वको क्रियाकलापहरू व्यक्तिबाट हुन नसक्ता सामाजिक सेवा संचालन गर्ने संस्थाहरूबाट त्यस अभावलाई हटाउन बाञ्छनीय हुन्छ ।
हुने र नहुने बीचमा भिन्नता बढ्दै गइरहेको छ । गरिबी मानवतामाथि कलङ्क बन्न गएको छ । बाँच्नको निम्ति चाहिने आवश्यक मानवीय गुणहरूको विकास गर्ने कुरा त टाढै भयो, पशुकोझैँ जीवन निर्वाह गर्न समेत जटिल हुन गएको छ । अभावग्रस्त स्थितिले परिवारमा, देशमा र विश्वमा शान्तिलाई खतरामा पारेको छ । मानिस मानिस बीचमा घृणा, अविश्वास र द्वन्द्व चरम सीमामा पु¥याएको छ । सम्पन्नताले मानिसलाई अन्धा, हृदयहीन र स्वार्थी बनाउँदै लगिरहेछ । यो संंसार अझसम्म त्यति रुखो र साँघुरो भइसकेको छैन जसले यहाँ जन्मेका मानिसहरूको न्यूनतम आवश्यकता पूर्ति गर्न नसकोस् । आफ्ना पनि न्यूनतम आवश्यकता पूर्ति गर्दै अरुको पनि न्यूनतम आवश्यकता पूर्ति गराउनमा मानिसले सहयोग गर्छ भने त्यस बेला उसले कस्तो आत्म–सन्तुष्टि प्राप्त गर्छ— सायद शब्दमा व्यक्त गर्न सकिदैन ।
सामाजिक सेवाबाट दुर्बल, असहाय र कम सक्षमहरूको त कल्याण हुन्छ नै≤ साथै यसले मानवता, भ्रातृत्वभाव र प्रेममा विश्वास बृद्धि गराउछ । आज देखा परेका हिंसा, घृणा र युद्धको विभीषिकाबाट मानवता दुर्बल हुन गएको बेला पुनः मानवतामाथि विश्वास जागरण गर्ने साधन सामाजिक सेवा मात्र हो । सामाजिक सेवाको व्यापारमा लेनदेन गर्ने कुनै पक्षले नोक्सानी बेहोर्नु पर्दैन, दुवै पक्ष लाभान्वित हुन्छन् । समाज कल्याण हुन्छ । मानिस अझ देवत्वको एक सिँढी माथि उक्लिन्छ ।
आज संसारमा राजनीतिज्ञहरूको बोलवाला छ । रानीतिज्ञहरूको प्रमुख ध्येय शक्ति र सत्ता प्राप्त गर्नु हो, शक्ति र सत्ता प्राप्त राजनीतिज्ञको जय जयकार सुनिन्छ, उनीहरू जय जयकारलाई उपलब्धि मान्छन् । राजनीतिज्ञहरूको जति धेरै मात्रामा जयजयकार भइरहेको छ, त्यत्तिकै तीव्र रूपमा घृणा गरिन पनि थालिएको छ । शक्तिले त्यस घृणालाई कुल्चन, दबाउन सक्छन्, उनीहरू केही समयसम्म । तर सत्ता र शक्तिहीन भएपछि त्यो घृणा चरम सीमामा पुगेर रानीतिज्ञहरूको नराम्ररी पतन भएको छ जुन वर्तमान एसियाको एक समयका शक्तिशाली राजनीतिज्ञहरूको पतनले देखाउँछ । सामाजिक सेवालाई आफ्नो राजनीतिको प्रमुख आधार बनाउने राजनीतिज्ञहरूबाट समाज लाभान्वित हुन्छ साथै त्यस्ता राजनीतिज्ञहरूको पतन नहुने कुरा पनि स्पष्ट छ ।
आजको विश्वलाई पहिलो आवश्यकता समाजसेवीहरूको छ । आर्थिक, सामाजिक र राजनैतिक विषमता बढदै गएको बेला मानवता र विश्वबन्धुत्व संकटमा पर्न गएको छ । यस्तो अवस्था सृजित हुँदै गइरहेको बेला सामाजिक सेवा र कल्याणका कार्यहरूले मात्र मानवीय अस्तित्व सुरक्षित राख्ने मान्यताहरूको पुनस्थापना गर्न सकिन्छ । सामाजिक सेवामा आज बढी प्रतिभाशाली र कर्मठ युवाहरू सरिक गराउन सके मात्र रोइरहेका मानवीय आँसु थोरै भए पनि पुछिन्छ । सामाजिक सेवामा सरिक हुनेहरूको महात्माझैँ न शक्ति न सत्ता प्राप्त गर्ने ध्याउन्न हुन्छ न आत्म–प्रचार गर्ने नै, मात्र उनीहरूको लक्ष्यबिन्दु समाज उत्थान र समाज कल्याण हुन्छ । समाज सेवीहरूको गुन–गान राजनीतिज्ञकोझैँ गाइन्न, जयजयकार गरिदैँन तर उनीहरूको सम्मान मुटुको केन्द्रबाट गरिन्छ र उनीहरूको पतन कहिल्यै हुँदैन । जुन समाजमा सेवाको बढी भावना हुन्छ, त्यही समाजमा बाँच्न र जीवन भोग्न बढी रमाइलो र सहज हुन्छ । तसर्थ सामाजिक सेवामा हामी सबै आफै सरिक होऊँ, यसो गर्न नसके पनि सामाजिक सेवा गर्ने संस्थाहरू र समाज सेवीहरूलाई उदार हृदयले सहयोग गर्न थालौँ— यसैमा सम्पूर्ण मानवहित निहीत छ ।

उत्थान, वर्ष १, अङ्क १ (२०३८) मा पहिलोपल्ट प्रकाशित

सरणको निबन्ध हेर्न--
http://saranessay.blogspot.com/

सरण राईको निबन्धकारिता

सरण  राईको निबन्धकारिता
नोदनिधि बराल
सरण राई यथार्थवादी–प्रगतिवादी धाराका निबन्धकार हुन् । उनको साहित्ययात्रा वि. सं. २०२२ को दैलो पत्रिकामा प्रकाशित भ्रम शीर्षकको कविताबाट प्रारम्भ भएको हो । कविता विधाबाट प्रारम्भ भएको उनको साहित्ययात्रा निबन्ध, कथा र उपन्याससम्म विस्तारित भएको छ । सरण राईले आफ्नो साहित्ययात्राका क्रममा समाजका यथार्थ घटनाहरुलाई मुख्य विषयवस्तु बनाएका छन् । उनका निबन्धहरूमा यथार्थता उद्घाटन भएको हुन्छ । उनका निबन्धमा बौद्धिकताको प्रयोग पनि भएको पाइन्छ । समाजका विकृति र विसङ्तिप्रति व्यङ्ग्यात्मक प्रस्तुति गर्ने शिल्प पनि राइृका निबन्धमा भेटिने महत्वपूर्ण पक्ष हो । समाजका जल्दाबल्दा समस्याहरूलाई आफ्ना निबन्धमा प्रस्तुत गर्दै ती समस्याहरूको निराकरण गर्नु उनको निबन्धगत प्रवृत्ति हो । राईका निबन्धमा समाज सभ्य, समुन्नत र संवेदनशील हुनुपर्ने आग्रह पाइन्छ । समाजबाट नराम्रा कुराहरू हटाएर विकृति र विसङ्तिको अन्त्य गर्न सकेमा सबल र सक्षम राष्ट्र निर्माणमा टेवा पुग्ने कुरा पनि राईले आफ्ना निबन्धमा प्रष्ट पारेका छन् । समाजमा अन्याय, अत्याचार, दमन, शोषण तथा उत्पीडनको उल्लेख गर्दै यस्ता विकृति र विसङ्गति सहन बाध्य मानिसहरूप्रति विशेष सहानुभूति राख्नु उनको निबन्धकारिता हो । समाजमा शोषक र शोषित वर्गका वीचमा द्वन्द्व देखाई शोषित तथा पीडित वर्गको विजउ अनि शोषक वर्गको पराजय देखाउने प्रवृत्ति सरण राईमा पाइन्छ । आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी पायन तथा सम्मानित जीवन यापन गर्न पनि वर्गरहित समाजको आवश्यकता पर्ने विचार राईको निबन्धको विषयवस्तु हुन्छ । सामाजिक विषयलाई लिएर निबन्ध लेख्ने राईका निबन्धमा आलङ्कारिक, सहज र सरल भाषाशैलीको प्रयोग भएको छ ।
सरण राई नेपाली साहित्यका वहुमुखी व्यक्तित्व हुन् ।उनले निबन्ध बाहेक कथा, उपन्यास र कविता बिधामा पनि कलम चलाएका छन् । उनका १६वटा कथाहरूको सङ्ग्रह अन्तिम स्वीकारोक्तिमानव संसार उपन्यासजस्ता कृतिहरू प्रकाशित भएका छन्  ।
निबन्धकार सरण राईको निबन्ध यात्रा २०२०को दशकपछि प्रारम्भ भएको हो । सरण राई आत्मपरक निबन्धकार हुन् । निबन्धको शीर्षक चयन गरी त्यसै शीर्षकमा केन्द्रित रहेर आफ्ना मनका लागेका कुराहरू प्रस्तुत गर्नु आत्मपरक निबन्धको विशेषता हो । साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटा निबन्धमा विविध विषयवस्तुलाई समेट्ने प्रयास  गरको छन् । उनका निबन्धको शीर्षक चयनमा विविधता पाइन्छ । विषयवस्तुमा पनि विविधता पाइन्छ । शीर्षक चयन, विषयवस्तु, प्रस्तुतिकरणको शिल्पशैली हादि कुरामा पनि राईका निबन्धमा विविधता पाइन्छ ।  त्यसैले राई विविध विषयमा निबन्ध रचना गर्ने स्रष्टा हुन् भन्न सकिन्छ ।
 साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटै निबन्धका आयाम पनि असमान रहेका छन् । अनुच्छेदहरू पनि विशृङ्खलित तथा विविधतापूर्ण रहेका छन् । धेरै छोटा तथा लामा निबन्धहरू यस सङ्ग्रहमा रहेका छैनन् । सबै निबन्धहरू छोटा तथा मझौला आयाममा संरचित छन् । कुनै–कुनै निबन्धमा विधामिश्रण र काव्यात्मक भाषाको प्रस्तुतिकरण रहेको पाइन्छ । निबन्धका वीच–वीचमा गीतका टुक्राहरू, कविताका अंशहरू प्रयोग गर्ने प्रवृत्ति पनि राईका निबन्धमा पाउन सकिन्छ । छोटाछरिता शीर्षकको चयन गर्नु, शीर्षकमा केन्द्रित रहेर निबन्ध विस्तार गर्नु, आपूmले देखेका तथा अनुभव गरेका कुरालाई समेटेर निबन्ध्के स्वरूप प्रदान गर्नुजस्ता विशेषताहरूनिबन्धकारका निजी विशेषता हुन् भन्न सकिन्छ । यस्ता विविध कारणले गर्दा सरण राई उच्चबौद्धिक क्षमता भएका भावुक र कल्पनाशील एवम् गम्भीर रूपले आफ्नानिबन्धहरू प्रस्तुत गर्ने स्थापित विशिष्ट निबन्धकार हुन् भन्ने कुरा प्रमाणित हुन्छ ।
;/0f /fO{sf] निबन्धकारिता 

ck|sflzt -lqe'jg ljZjljBfno, dfgljsL / ;fdflhszf:q ;ª\sfocGtu{t dx]Gb| jx'd'vL SofDk; w/fg, g]kfnL ljefusf] :gftsf]Q/ tx bf];|f] jif{sf] b;f} kqsf] k|of]hgfy{ k|:t't zf]wkq _ af6